इस्तियाकले सार्वजनिक गरे आफना १० दृष्टि
Wednesday, November 9th, 2022, 9:08 pm
Kalpristha
शिक्षा क्षेत्रमा पाँच वर्षमा ७ नमुना सामुदायिक विद्यालय निर्माण गर्ने, पर्यटन तथा होटल व्यवस्थापक कलेज स्थापना गर्ने, निजी विद्यालयको शुल्क र शिक्षाको गुणस्तरबीच सन्तुलन कायम राख्ने, स्मार्ट स्कुल, जीवन उपयोगी शिक्षा, शिक्षामा योगदान गर्नेलाई सम्मान र स्मार्ट महेन्द्र बहुमुखी क्याम्पस बनाउने राईले बताए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ कात्तिक
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका मोहम्मद इस्तियाक राईले बाँके क्षेत्र नम्बर २ को विकासका निम्ति आफनो प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै पुर्व मन्त्री राईले ‘इश्तियाक १० दृष्ट’ नाम दिएर आफनो प्रतिवद्धता सार्वजनिक गरेका हुन् । प्रतिवद्धता घोषणा गर्ने कार्यक्रममा जसपाको तर्फबाट बाँके क्षेत्र नम्बर २ मा प्रदेश सभा तर्फ उम्मेदवार बनेका नेता आदेश अग्रवाल र भण्डारीलाल यादव पनि सहभागी थिए ।
राईले आफु निर्वाचित भएपछि गर्ने मुख्य कामहरुलाई विभिन्न १० शिर्षकमा समेटेका छन् । पहिलो नम्बरमा उनले स्वस्थ जीवन, देशकै धन भन्ने बुद्धामा पाँच वर्षभित्र कम्तीमा पाँचवटा नमुना स्वास्थ्य संस्था निर्माण गर्ने, नेपालगन्जलाई मेडिकल हब बनाउने, नशाजन्य तथा मुटु, फोक्सो लगायत दीर्घ र जटिल रोगका बिरामीका लागि भेरी अस्पतालमा विशेषज्ञ युनिट निर्माण गर्ने र सरकारी स्वास्थ्य संस्थामा एमडी, एमएस शिक्षणका लागि पहल गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
शिक्षा क्षेत्रमा पाँच वर्षमा ७ नमुना सामुदायिक विद्यालय निर्माण गर्ने, पर्यटन तथा होटल व्यवस्थापक कलेज स्थापना गर्ने, निजी विद्यालयको शुल्क र शिक्षाको गुणस्तरबीच सन्तुलन कायम राख्ने, स्मार्ट स्कुल, जीवन उपयोगी शिक्षा, शिक्षामा योगदान गर्नेलाई सम्मान र स्मार्ट महेन्द्र बहुमुखी क्याम्पस बनाउने राईले बताए ।
कृषि र किसानका क्षेत्रमा मनिकापुरमा व्यावसायिक गौशाला र बोटानिकल गार्डेन, पशु एम्बुलेन्स, समयमै मल–बीउ, दिगो सिंचाई योजना, स्मार्ट किसान, व्यावसायिक कृषि उत्पादन र बजारको सेतुको रुपमा विकास गर्ने बताइएको छ ।
खेलकुद क्षेत्रमा स्थानीय खेलहरुको पुनर्जागरण, खेल पर्यटनको विकास, नेपालगन्जको हरेक वडामा खेल संरचना, नेपालगन्ज रंगशालाको व्यावसायिक प्रवद्र्धन, व्यावसायिक खेलाडी, सम्मानित खेल जीवन बनाउने प्रतिवद्धता गरिएको छ ।
यसैगरी मन्त्री राईले युवाको क्षेत्रमा स्वरोजगार युवा, निर्णायक युवा प्रतिनिधित्व, सीप र अनुभवको सम्मीश्रण, दक्ष जनशंक्ति उत्पादन गर्ने भनिएको छ । सामाजिक सुरक्षाको क्षेत्रमा जेष्ठ नागरिकको कदर, घरदैलोमै सुविधा अनि सम्मान, नारी शक्ति उनकै हातमा ढुकुटी, प्रजनन् अधिकारमा महिलाको निर्णायक भुमिकालाई स्थापित गर्ने मन्त्री राईले आफनो घोषणापत्रमा उल्लेख गरेका छन् ।
वातावरणका क्षेत्रमा हरित गाउँ–सहर, एक जीउ एक बिरुवा, जैविक विविधता संरक्षण, वातावरणमैत्री विकास, पर्यावरण नबिगार्ने संरचना, आधारभुत शिक्षामै वातावरणको ज्ञान जस्ता विषयलाई समेटिएको छ ।
पुर्वाधार विकासको क्षेत्रमा चालु आयोजनाहरुलाई पूर्णता, नयाँ आयोजनाहरु सृजना, आफनै पौरख, आफनै पुस्ताका लागि विकास, हरेक वडामा प्राथमिकता अनुसार पुर्वाधार, पुर्वाधार निर्माणमा स्थानीयकै अपनत्व, ढल निकासयुक्त गाउँ–सहर र विद्युतीय शवदाह गृह, वैकुण्ठधाम किरियापुत्री भवन निर्माण गर्ने जसपा नेता मोहम्मद इस्तियाक राईले प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैगरी उनले पर्यटकीय स्थलहरुको प्रवद्र्धन, समुन्नत सहर, सम्मानित व्यवसाय, नेपालगन्ज ‘टुरिज्म ट्रान्जिट योजना, पर्यटन पुर्वाधार निर्माण गर्ने बताएका छन् ।
समुन्नत सहर बनाउनका लागि नेपालगन्ज सहरको व्यवस्थापन, योजना र कार्यान्वयन, संस्कृती र सहरमा अवधि सांस्कृति पर्यटनको योजना, जमुनाह देखि हिल्सा सडकको योजना कार्यान्वयन, सीमाञ्चल क्षेत्रको व्यवस्थापन, निगरानी र आपसी समन्वय गर्ने र उदाउँदो सहर (ग्रामीण सहर) व्यवस्थापन र आधुनिकरण गर्ने १० दृष्टिमा समावेश गरिएको छ ।