सर्भर डाउन हुँदा काम गर्न समस्या
Monday, November 14th, 2022, 9:41 pm
Kalpristha
नेपालगञ्ज: नेपालगञ्ज भन्सार कार्यालयमा दुई दिनदेखि भन्सारको काम हुन नसक्दा भारतबाट आएका सयौं मालबाहक गाडी भन्सार कार्यालय यार्डमा थन्किएका छन् । आइतबारदेखि भन्सार कार्यालयको सर्भर डाउन रहेको भन्दै भन्सार कार्यालयले भन्सारको काम गर्न नसक्दा समस्या भएको व्यवसायीको गुनासो छ ।
सर्भर डाउन भएको जनाएर राजस्व सङ्कलन गर्ने काममा अवरोध भएपछि आइतवार बेलुका एक घण्टा मात्र राजस्व सङ्कलनको काम गरिएको तथा सोमवार बिहानबाट भन्सार नगरिएको व्यवसायीको गुनासो छ ।
भन्सार कार्यालयमा राजस्व सङ्कलन नियमित हुन नसक्दा भन्सार कार्यालयमा पुगेका गाडीको अतिरिक्त भाडा तिर्नुपरेको उद्योगी व्यवसायीको गुनासो छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अनुसार सर्भर समस्या समाधान नहुँदा व्यवसायीले अतिरिक्त शुल्क तिर्नुपरेको छ ।
सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सर्भर डाउन भएको र सुचारु गर्न नसकिएकाले उद्योगी व्यवसायीलाई नोक्सानी भएको बताए ।
नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी नाथ सापकोटाले भन्सार विभागको सर्भरमा समस्या आएपछि सोमबारदेखि अवरोध भएको बताए । उनले समस्या समाधानको प्रयास भइरहेको समेत जानकारी दिए ।