जेष्ठ नागरिकलाई बैंकबाट भत्ता लिनैं सास्ती
Tuesday, November 15th, 2022, 5:19 pm
Kalpristha
स्थानीय तहको चुनावका वेला सबैखाले भत्ताहरु घर–घरमै पुर्याईदिने वाचा गरेका जनप्रतिनिधिहरुले जितिसकेपछि आफुहरुलाई विर्सेको बताउने सुरसतीलाई अब जित्ने नेताले पनि आफ्नो समस्या बुझ्छन् जस्तो लाग्दैन ।
नेपालगन्ज : राजनितिक दलहरुलाई चुनाव लागेका वेला नेपालगन्ज– २१ की सुरसती कोरी भने नेपालगन्ज उप–महानगरको भवनमा रहेको वाणिज्य बैंकमा लाईन लागिरहेकी थिईन् । गत आईतवार विहानैदेखि लाईनमा बसेकी सुरसतीको पालो दिउँसो १२ सम्म पनि आएको थिएन् । उनी आफ्ना ६ बर्षिय अशक्त छोराको भत्ता लिन त्यहाँ पुगेकी थिइन् ।
त्यही भिडमा रहेका ७२ बर्षिय वृद्व शामी दयाल पनि पालो पर्खिरहेका थिए । वृद्वभत्ता लिन घरबाट निस्केका उनी छिटो पालो आउने आशमा विहानै लाईन लागेपनि पालो भने पाएको थिएन् ।
उनी बैंकमा लाईन लागेकै समयमा चुनावी प्रचारप्रसार गर्ने राजनितिक दलका नेता तथा कार्यकर्ताहरु त्यहिबाटो भएर भोट माग्दै हिंडिरहेका थिए । तर, कसैले पनि वृद्व, एकल महिला र अशक्त सन्तानका आमाहरुको त्यो पर्खाई देखेनन् ।
स्थानीय तहको चुनावका वेला सबैखाले भत्ताहरु घर–घरमै पु¥याईदिने वाचा गरेका जनप्रतिनिधिहरुले जितिसकेपछि आफुहरुलाई विर्सेको बताउने सुरसतीलाई अब जित्ने नेताले पनि आफ्नो समस्या बुझ्छन् जस्तो लाग्दैन ।
‘विहानैबाट लाईन बस्दा पनि पालो पाईएको छैन । २१ नम्बर वडाबाट यहाँसम्म आउन–जान भाडा मात्रै बचाउने हो भनेपनि मेरो घरमा २ दिन तरकारी किन्न पुग्छ । घरमै भएको सरकारले त हाम्रा समस्या देखेन भने सिंहदरबार जाने नेताले झन के बुझ्लान हाम्रो समस्या ।’– सुरसतिले गुनासो पोखिन् । ‘यहाँ पर्खेको समय मैले कसैको काम गर्न पाएको भए मेरो गर्ज टथ्र्यो । तर, छाक टार्ने समस्या कस्तो हुन्छ भन्ने कुरा नेतालाई थाहा हुने कुरै भएन ।’
स्थानीय निर्वाचनका क्रममा राजनीतिक दलहरूले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने घोषणा गरे पनि व्यवहारमा भने लागू गर्न सकेका छैनन् । वडा कार्यालयले बैंक मार्फत ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउने गरेका छन् । तर बैंकमा भत्ता लिन जादा बस्ने ठाउँ समेत हुँदैन । राम्ररी हिडडुल गर्न नसक्ने जेष्ठ नागरिकलाई बैंक सम्म जान समेत अप्ठयारो परिरहेका बेला बैंकमा घण्टौं पर्खेर लाईन लाग्नु पर्ने बाध्यता छ । जसका कारण सुरसती र शामी जस्ता थुप्रैले भत्ता लिन सास्ती भोग्नु परिरहेको छ । यो समस्याका बारेमा स्थानीय जनप्रतिनिधि र बंैक कर्मचारी जानकार छन् तर समस्या भने त्यही छ ।