नेपालले पाकिस्तानलाई हरायो
Wednesday, November 16th, 2022, 7:24 pm
Kalpristha
घरेलु टोली नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो ।
दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाललाई जित दिलाउन अन्जन विष्टले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा अन्जनले गोल गरेका हुन् । अन्जनले सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गरे । नेपालको लागि अन्जनको यो ११ औं अन्तराष्ट्रिय गोल हो । अन्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।
यस जितसँगै नेपालले दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा समेत पूरा गरेको छ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद अन्तर्गत सेप्टेम्बर १८ मा नेपालले दशरथ रंगशालामा पहिलो औपचारिक खेल खेलेको हो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो ।
यस्तै नेपालले पाकिस्तानविरुद्ध पाँचौ जित निकाल्न सफल भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।