‘चुनाव भन्नु त कुर्सीको खेल मात्रै हो’
Thursday, November 17th, 2022, 5:10 pm
Kalpristha
हामीलाई त जीवनभर त्यहि कुराले पोलिरहन्छ । हामीले हाम्रा मान्छे र हाम्रो जनजिविकाको ग्यारेन्टी मात्रै खाजेको हो । तर, हाम्रै बलिदानको बुईं चढेर सत्तामा पुगेकाहरुले कहिल्यै हाम्रो अवस्थाबारे गम्भिर भएनन् ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज :बैजानथ – ५ का उषा दाहाललाई हरेक निर्वाचनमा नेताहरुले के–के चुनावी एजेन्डा बनाए भन्ने चासो हुन्छ । उनले यसपटकको आम निर्वाचनमा पनि हरेक दलका चुनावी घोषणा पत्र र प्रतिवद्धता पत्र हेरिन् । तर, उनी र उनीजस्ता द्वन्द्व पिडितहरुको समस्यालाई कुनैपनि दलको घोषणा पत्र र प्रतिवद्धता पत्रले सम्बोधन गरेको पाईनन् ।
अहिले सम्म कुनैपनि दलका नेता तथा उम्मेदवारले पिडितहरुका समस्या के छन् भनेर पनि नसोधेको बताउंदै द्वन्द्वपिडित दाहालले ‘हाम्ले भोट दिनेबेला त हाम्रा समस्या सुनिदिन्छन भनेर दिन्छौं । तर कसैले पनि हाम्रा समस्या बुझेनन् ।’
उनले अगाडी थपिन, ‘कमसेकम हाम्रा मान्छेहरुको अवस्थाबारे हामीलाई बताईदिए मात्रै पनि हाम्रो सामाजिक संस्कारहरु गर्न सक्थ्यौं नि । हामीलाई त जीवनभर त्यहि कुराले पोलिरहन्छ । हामीले हाम्रा मान्छे र हाम्रो जनजिविकाको ग्यारेन्टी मात्रै खाजेको हो । तर, हाम्रै बलिदानको बुईं चढेर सत्तामा पुगेकाहरुले कहिल्यै हाम्रो अवस्थाबारे गम्भिर भएनन् । चुनाव भन्नु त कुर्सीको खेल मात्रै हो ।’
नेपालगञ्ज उप–महानगरपालिका–२२ पुरैनीकी तुलसी विष्टलाई पनि अब उनका श्रीमानको अवस्थाबारे कसैले बोलिदेला जस्तो लाग्दैन । उनका श्रीमान वेपत्ता भएको १९ वर्ष भयो । २०६० साउन २४ गते आफ्नी आमासंग नेपालगञ्जमा सामान्य किनमेल गर्न आएका उनका श्रीमानलाई एकछिनमा पठाईदिन्छु भन्दै तत्कालिन बिद्रोही पक्षले जबरजस्ती लिएर गएका थिए ।
साँझसम्म त कसो नआउलान भनेर बाटो कुरेकी तुलसीले घटना भएको तीन दिनपछि आफ्ना श्रीमानको खोजिमा लागिन् । उनको यो खोजाई अहिलेसम्म पनि जारी छ । तर, पनि उनले आफ्ना श्रीमानको अवस्थाबारे अहिलेसम्म केहि थाहा पाउन सकेकी छैनन् । आफुजस्ता पिडितहरुको लागि बोलिदिने कोहि नभएको बताउदै तुलसी आफुहरुलाई राज्यले नै आरक्षणको व्यवस्था गरिदिनु पर्ने बताउँछिन् ।
तत्कालिन अवस्थामा सत्तापक्षमा रहेकाको र विद्रोही पक्षको बर्तमान अवस्थामा गठजोडको सरकार हुँदा पनि पीडितका सवालमा राज्य स्तरबाट पिडितको सम्बोधन हुनेगरि कुनैपनि रणनितिक योजना नबन्नु दुखद भएको द्वन्द्वपिडित चन्द्रकला उप्रतीको भनाई छ । ‘संघीयता र गणतन्त्रको जग नै शसस्त्र द्वन्द्व हो तर, खै हाम्रा मान्छेको त्यागको सिँढी चढेर सत्तामा पुग्नेहरुले यो कुरा बुझेको ?’– चन्द्रकलाले आक्रेश पोखिन् । ‘चुनाव आउन केहि दिन मात्रै बाँकी छ । तर, कुनैपनि दल वा उम्मेद्वारले पिडितका समस्या के हुन ? भनेर सोधेका पनि छैनन् । भने कुनैपनि दलले हाम्रा समस्याको सम्बोधन हुने गरि चुनावी एजेण्डा पनि बनाएका छैनन् । अब भन्नुस, सत्तामा जानेहरुले हाम्रा समस्या कसरी सम्बोधन गर्छन् ।’
गणतन्त्रका लागि गरिएको आन्दोलनमा नेपालका राजनितिक दल सफल भए । त्यसयता करिब डेढ दशकका अन्तरमा सत्तामा नेपाली कांग्रेस, एमाले, माओवादीले आलोपाली गरी नेतृत्व गरिसकेका छन् । अन्य साना राजनिति दलहरु पनि सरकारमा गए । तर द्धन्द्ध पिडितका समस्या र पिडाका बारेमा सबैको साझा व्यवहार छ ।