विहीवारदेखि मदिरा ओसारपसार तथा सेवनमा रोक
Thursday, November 17th, 2022, 7:16 pm
Kalpristha
४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनलाई मध्यनजर गरि बाँके प्रशासनले १ मंसिर विहीवारदेखि मदिरा विक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ ।
आइतबार मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ । निर्वाचन सुरक्षालाई लक्षित गरी यस्तो निर्णय गरिएको शर्माले बताए । साथै, गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ ।
‘कसैले यो निर्णयविपरीत मदिरा बिक्री वितरण गर्ने, सेवन र ओसारपसार गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने छ,’ जारी सूचनमा उल्लेख छ ।
निर्वाचनको दिन बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन चलाउन रोक लगाउने निर्णय पनि भएको उनले बताए ।
दशगजामा संयुक्त गस्ती
निर्वाचनलाई लक्षित गरी तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल भारत सीमा क्षेत्रको दशगजामा दुईदेशका सुरक्षा निकायले संयुक्त गस्ती गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी अन्तर्गत बिओपी जमुनाहाका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन जोशी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बटालियन नम्बर ४२ को कम्पनी रुपईडिहाका असई अरुण कुमारको संयुक्त कमाण्डमा बाँकेस्थित नेपाल भारत सीमा क्षेत्रको जंगे पिल्लर नं. ६५१ देखि ६५१/११ सम्म संयुक्त गस्ती गरिएको हो ।
निर्वाचनको बेलामा सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप तथा अपराध रोक्नका लागि संयुक्त गस्ती शुरु गरिएको जनाईएको छ ।
निर्वाचनको बेलामा मात्र नभएर अन्य समयमा सीमा क्षेत्रबाट हुनसक्ने विभिन्न आपराधिक गतिबिधि रोक्नका लागि हरेक महिनामा दुई–तीन पटकसम्म यसरी संयुक्त गस्ति गरिँदै आएपनि मंसिर ४ को निर्बाचनलाई लक्षित गरी दुबै देशका सुरक्षा निकायको संयुक्त गस्ती निर्वाचन अवधीसम्म गरिने दुबै देशका अधिकारीको भनाई छ ।