४ महिनामा डेढ लाख मेट्रिक टन रासायनिक मल भित्रियो
Thursday, November 17th, 2022, 8:45 pm
Kalpristha
नेपालगन्ज : चालू आर्थिक वर्ष २०७९÷८० को ४ महिनाको अवधिमा १ लाख ३० हजार मेट्रिक टन रासायनिक मल भित्रिएको छ । कृषि सामग्री कम्पनी एक्लैले चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा १ लाख ३० हजारभन्दा बढी रासायनिक मल ल्याएको हो । यससँगै विगत लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानले यसपटक भने सहज रूपमा मल पाउन थालेका छन् ।
कम्पनीले डीएपी र युरिया गरेर उक्त परिमाण बराबरको मल ल्याएको प्रबन्ध निर्देशक राजेन्द्र कार्कीले जानकारी दिए । उनले साउन महिनादेखि नै धमाधम रासायनिक मल आइरहेकाले बजारमा अघिल्ला वर्षहरूको जस्तो अभाव नरहेको बताए । कम्पनीसँग हाल २२ हजार ५०० मेट्रिक टन डीएपी मल मौज्दात छ । यस्तै, ३ हजार ५०० मेट्रिक टन पोटास समेत मौज्दात रहेको कार्कीको भनाइ छ ।
यसबाहेक थप २ हजार ५०० मेट्रिक टन मल आइरहेको कम्पनीले जनाएको छ । ग्लोबल टेण्डरमार्फत ल्याउन लागिएको उक्त युरिया मलसमेत धमाधम आउन थालेको कार्कीले बताए ।
चालू आर्थिक वर्षयता ३ पटक गरेर कूल ९० हजार मेट्रिक टन युरिया मल आइसकेको छ । यस्तै, २ पटक गरेर कूल ४० हजार मेट्रिक टन डीएपी मल नेपाल भित्रिइसकेको छ । यस्तै, थप ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल आउने प्रक्रियामा रहेको कम्पनीले जानकारी दिएको छ । आइसकेको र आउनेगरी कूल १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिइसकेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वार्षिक ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल चाहिन्छ । यस्तै, राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका अनुसार वर्षमा १२ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । यसअनुसार, नेपाललाई पर्याप्त मल नआएपनि कम्पनीले ल्याएको मलले अभाव टारिरहेको बताइएको छ ।