उत्साह जनक रुपमा सुरु भयो मतदान
Sunday, November 20th, 2022, 8:03 am
Kalpristha
उमेश निरौला
नेपालगन्ज, ४ मंसिर
उत्साहजनक रुपमा बाँकेमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरु भएको छ । निर्वाचन कार्यालय बाँकेका अनुसार आइतबार साझ ५ बजे सम्म हुने निर्वाचनमा बाँकेका तिन निर्वाचन क्षेत्रमा ३ लाख ३२ हजार २ सय ३१ जनाले मत हाल्दैछन् ।
निर्वाचन कार्यालय बाँकेका अनुसार बाँकेका ३ वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको छ ।
सोही मतदान स्थलमा ३ सय ८० वटा मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ मा १ सय ३७, क्षेत्र नम्बर २ मा १ सय १३ र क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ ।
नेपालगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पनि एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । निर्वाचन कार्यालय प्रमुख पन्तले भनिन्, ‘यसपटक आयोगको परिपत्र अनुसार कर्मचारी, थुनुवा, कैदी, बृद्धाश्रममा रहेका जेष्ठ नागरिक लगायतका लागि अस्थायी मतदान केन्द्रको ब्यवस्था गरिएको हो, यसअघि अस्थायी मतदान केन्द्र राख्ने ब्यवस्था थिएन ।’
बाँकेको क्षेत्र नम्बर १ मा सबैभन्दा बढी १ लाख २१ हजार १ सय मतदाता रहेका छन् । त्यसपछि दोस्रोमा क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ३ सय २२ तथा क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । बाँके प्रदेश सभा–१ ९१० मा ५५ हजार ८ सय ४५ र प्रदेश सभा–१ ९२० मा ६५ हजार २ सय ५५ जना मतदाता छन् ।
यस्तै प्रदेश सभा–२ ९१० मा ५० हजार ३ सय १३, प्रदेश सभा–२ ९२० मा ४७ हजार ४ सय ९६ मतदाता रहेका छन् ।
यसैगरी प्रदेश सभा–३ ९१० मा ६१ हजार ५ सय ९६ र प्रदेश सभा–३ ९२० मा ५१ हजार ७ सय २६ जनाले आइतबार मतदान गदैछन् ।