नेता द्वय धवल र सुदिपले गरे मतदान
Sunday, November 20th, 2022, 10:07 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ मंसिर
बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. धवल सम्शेर राणाले मतदान गरेका छन् । उनले बाँके क्षेत्र नम्बर २ मा अवस्थित डिविजन वन कार्यालयको मतदान केन्द्रमा भोट हालेका हुन् ।
मतदान गर्दै उम्मेदवार राणाले नेपालगन्जका जनताले सधैँ आफुलाई माया गरेको र यसपटक डुडुवावासीले समेत विश्वास गरेका कारण आफु ढुक्क रहेको बताए । दुई पटक नेपालगन्ज उप–महानगरपालिका प्रमुखको जिम्मेवारी सम्हालिसकेका नेता राणाले यसपटक प्रतिनिधि सभाको उम्मेदवारी दिएका हुन् । कालपृष्ठसँग कुरा गर्दै नेता राणाले जनताको माया स्वरुप मतपरिणाम आफ्नो अनुकुल आउने आशा व्यक्त गरे ।
यस्तै २ नम्बर क्षेत्रकै नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणाले समेत मतदान गरेका छन् । उनले वडा नम्बर ८ मा अवस्थित महेन्द्र माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । संधै अरुलाई भोट हाल्ने नेता सुदिप नरसिंह राणाले यस पटक भने आफैलाई भोट हाल्न पाउदा निक्कै उत्साहित भएको र परिणाम नेपाली काँग्रेसको पक्षमा आउने मतदान पछि कालपृष्ठलाई बताए ।
बाँकेमा निर्वाध रुपमा मतदान भैरहेको छ । जनताहरु अबको ५ बर्षको लागि आफ्नो नेता चुनिरहेका छन् । भने, भोट हालिरहेका आम मतदातामा पनि निर्वाचनको उत्साह देख्न सकिन्थ्यो ।