स्वर्ण जयन्ती मनाउँदै जनता नमुना मावि
Thursday, December 15th, 2022, 9:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ मंसिर
बाँकेको पुरानो विद्यालयका रुपमा परिचय बनाएको जनता नमुना माध्यमिक विद्यालय सन्तकुटीले यस वर्ष स्वर्ण जयन्ती मनाउने भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको जनता नमुनाले स्थापना कालको ५०औं वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाउने तयारी गरेको हो । २०२९ सालमा स्थापना भएको जनताले माघ २६ गते विद्यालयको प्राङ्गणमा महोत्सवका रुपमा स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ ।
बिहीबार विद्यालयमा आयोजना गरिएको भेलाले स्वर्ण जयन्ती आयोजना गर्न २ सय ५१ जनाको मूल समारोह समिति निर्माण गरेको विद्यालयका प्रध्यानाध्यापक महेन्द्र खत्रीले जानकारी गराए ।
मूल समारोह समितिसँगैं विभिन्न उप समितिहरु समेत गठन गरिएको प्रध्यानाध्यापक खत्रीले बताए । विद्यालयले सप्ताव्यापी रुपमा स्वर्ण जयन्ती मनाउने गरी पूर्व तयारीका कामहरु सुरुवात गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह थापाले बताए ।
छलफलमा सहभागीहरुले जनता नमुना मावि बाँके जिल्लामै एक चर्चित विद्यालय रहेकाले स्वर्ण जयन्तीलाई भव्य बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
स्वर्ण जयन्तीमा विभिन्न खेलकुदका प्रतियोगिता, कला संस्कृति प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, पालिका स्तरीय खेलकुद प्रतियोगिता, स्वास्थ्य शिविर, विद्यार्थीद्वारा तयार गरिएको फुड फेस्टिबल, कृषिसँग सम्बन्धित प्रदर्शनी, छलफल लगायतका कार्य गरिने विद्यालयका शिक्षक टंकनाथ दाहालले जानकारी दिए । भेलामा पूर्व विद्यार्थीहरु, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, राजनीतिज्ञलगायतको उपस्थिति रहेको थियो ।
सप्ताव्यापी रुपमा मनाउन थालिएको स्वर्ण जयन्तीका अवसरमा आर्थिक रुपमा सहयोग गर्न विद्यालयले आग्रह गरेको छ । विद्यालय स्रोतका अनुसार ५ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्ने दातालाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।
पूर्व विद्यार्थी समाजले विद्यालय स्तरमा स्वर्ण स्तम्भ बनाउने जिम्मेवारी लिएको छ भने समाजसेवी केही व्यक्तित्वले विद्यालयलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको शिक्षक दाहालले बताए ।