बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्दै खाद्य
Thursday, December 15th, 2022, 9:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ मंसिर
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । व्यापार कम्पनी लिमिटेडले बाँकेमा यस वर्ष आगामी पुस ५ गतेबाट धान खरिद प्रक्रिया सुरु गदैछ ।
नेपालगन्ज कारकादो स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको परिसरमा धान खरिद हुनेछ । जहाँबाट खाद्यले यसपटक २५ हजार क्विन्टल धान खरिद गर्नेछ । त्यसमा मोटा धान ५ हजार र मध्यम धान २० क्विन्टल खरिद गर्ने गरी केन्द्रबाट पत्र आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज शाखा कार्यालयका प्रमुख राम सरण लामिछानेले जानकारी दिए ।
गत वर्ष संस्थानले करिब २३ क्विन्टल मात्र धान खरिद गरेको थियो । अहिले खरिद गर्न लागेको धान पनि ५ प्रतिशत किसानलाई नसमेट्ने हुदाँ थप धान खरिद गर्न पर्नेमा किसानहरुले माग गर्दै आएका छन् । हाल खाद्य संस्थानमा रहेको ३ गोदाम मध्य एक गोदाममा पुरानो चामल रहेको छ । गोदाम खालि गर्ने काममा लागेको कार्यालय प्रमुख लामिछाने बताए ।
समर्थन मूल्य छिटै घोषणा गरेपनि सरकारले धान खरिद प्रक्रिया ढिला गरी सुरु गरेको किसानहरुले गुनासो गर्दै आएका थिए । बाँकेमा नेपाली कांग्रेस र नेकपा एमाले निकट किसान संघहरुले संयुक्त रुपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्ज शाखामा गएर ध्यानाकर्षण गराएका थिए । त्यसपछि गतसोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले आगामी पुषको ५ गतेबाट धान खरिद गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।
खाद्यको नेपालगन्ज कारकाँदो स्थित कार्यालयमा विहान १०ः०० बजेदेखि ४ बजे सम्म धान खरिद गर्ने कार्य चल्ने कार्यालयले जनाएको छ ।
धान बिक्री गर्न आउने बाँकेका किसानहरुले आफनो सम्बन्धित गाउँपालिकाको कृषि शाखाबाट सिफारिस पत्र अनिवार्य रुपमा लिएर आउनु पर्ने व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज शाखाका सुचना अधिकारी शिवराज घिमिरेले कालपृष्ठ दैनिकलाई बताए ।
नेपाल सरकारले तोकिदिएको न्यूनतम् समथन मुल्य मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ मुल्यमा खाद्यले किसानबाट धान खरिद गर्नेछ ।