नेपालगन्जमा कौशी खेतीको अभ्यासबाट चिनिदैंछन् नारायण
Tuesday, December 27th, 2022, 5:16 pm
Kalpristha
पछिल्ला केही समययता भृकुटीनगरका घरका कौशीमा तरकारी फलेको देखिन थालेका छन् । सिग्देलले सुरु गरेको अभियानबाट प्रभावित भएर थुप्रै मानिसहरुले यसलाई सुरु गर्ने प्रयास पनि गरेका छन् । आफनो कौशीमा तरकारी फलाएर ताजा तरकार खानेको संख्या बढिरहेको छ अहिले नेपालगन्जमा ।

………..
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १२ पुष
कोरोनाका कारण दुई बर्ष पहिले घरमा बस्दा– बस्दा वाक्क लागेर दिन कटाउन के गर्ने होला भनेर सोच्दै गर्दा नारायण सिग्देलको दिमागमा तरकारी लगाउने विचार आयो । नेपालगन्ज उप–महानगरपालिका –११ मा भाडामा बस्दै आएका सिग्देलका छिमेकीको आँगनमा थोरै खाली जग्गा थियो । आफ्ना छिमेकीसंग कुरा गरेर उनले त्यो सानो ठाँउमा तरकारी रोपे । कोरोना कहर सुरु हुनुभन्दा पहिले उनी एउटा कृषि पढाईहुने विद्यालयमा अध्यापन गराउथे । जहाँबाट उनले तरकारी लगाउने विषयमा ज्ञान पाएका थिए ।
त्यसको केहि समयपछि उनले आफ्नै घर बनाए जसको छत कौशी खेती कै लागि प्रयोग गर्न सकिने शैलिमा निर्माण गरे । त्यहाँ उनले बोरा, डब्बाहरु खोजेर थोरै पैसामा तरकारीहरु उत्पादन गर्न थाले । बाल्टीन, बोरा, थोत्रा जर्किन तयार पारेर त्यसमा मलिलो माटो राखी घरमा विशेषगरी भान्साबाट निस्कने फोहोरलाई (लसुन, अदुवा, आलुका बोक्रा, सागपात) संकलन गरेर छुट्टै बाल्टिनमा राख्ने र त्यही फोहोरलाई कुहाएर कम्पोष्ट मल तयार पारे र उनले आफ्नै घरमा तरकारी फलाउन थाले । उनले अहिले आफ्नो बारीमा थोपा सिंचाई समेत गरिरहेको बताए ।
‘आफुले खाने तरकारी आफै उत्पादन गर्न सकिन्छ’ भन्ने कुराको ज्वलन्त उदाहरणका रुपमा सिग्देललाई लिन सकिन्छ । अचेल उनले आफुजस्ता कौशिमा खेती गरिरहेकाहरुको समुह पनि गठन गरेका छन् । उनी र उनीजस्तै केहि कृषकहरु मिलेर सामुहिक रुपमा कृषिखेती गर्ने योजना समेत बनाएका छन् । जसको लागि उनीहरुले राँझामा ८ विगाहा जमिन लिएका छन् । त्यहाँ सबैभन्दा पहिला मलिलो माटो बनाउनका लागि ५ कठ्ठामा गड्यौला खेती गर्ने तयारी गरिरहेका छन् ।
उनकै छिमेकी दुर्गा थापाले पनि यसपटक आफ्नै कौशिमा फलेको तरकारी आफुले खाएर पनि आफ्ना छिमेकी सम्मलाई खुवाउन पुग्यो । उनले कौशिमा व्यवसायिक खेती गरेकी त होईनन् । तर,पनि उनलाई बजारबाट तरकारी किनेर खानु नपरेको मै मख्ख छिन् । घरको छतमा अलिकति भएपनि ठाँउ व्यवस्थापन गरेर उनी अंझै थप तरकारी फलाउने सोचमा छिन् । उनले भनिन, ‘तरकारी खेती गर्नको लागि जग्गा जमिन नै आवश्यक पर्छ भन्ने हुँदैन । इच्छा र जाँगर भएमा घरका कौशीमा पनि तरकारी फलाउन सकिन्छ ।’ उनले थपे, ‘यसरी तरकारी खेति गर्दा स्वच्छ एवम् ताजा तरकारी खान पाइन्छ । दैनिक तरकारी किन्नको लागि पैसाको बचत हुन्छ ।’
पछिल्ला केही समययता भृकुटीनगरका घरका कौशीमा तरकारी फलेको देखिन थालेका छन् । सिग्देलले सुरु गरेको अभियानबाट प्रभावित भएर थुप्रै मानिसहरुले यसलाई सुरु गर्ने प्रयास पनि गरेका छन् । आफनो कौशीमा तरकारी फलाएर ताजा तरकार खानेको संख्या बढिरहेको छ अहिले नेपालगन्जमा । बढ्दो बजारीकरणलाई ध्यानमा राख्दै राज्यका सम्बन्धित सबै निकायहरुले कौशिखेतीलाई प्रबद्र्धन जरुरी रहेको बताउँछन सिग्देल ।
नेपालगन्ज उप–महानगरपालिकाले भने गत आर्थिक बर्षमा नीति तथा कार्यक्रम निर्माण गरी बजेट छुट्याएपनि कार्यक्रम माग नै नभएपछि आफुहरुले यसबर्ष यस सम्बन्धि कार्यक्रम नबनाएको नगरका कृषिशाखा प्रमुख अम्बिका रिजालले कालपृष्ठ दैनिकलाई बताईन् । उनले भनिन, ‘गत आर्थिक बर्षमा हामीले निती तथा कार्यक्रम निर्माण गरि बजेट छुट्याएका थियौं । तर एक जना बाहेक कसैलेपनि कार्यक्रम नै माग गर्नुभएन । कार्यक्रम माग नै नभएपछि हामीले यस बर्ष कौशि खेती सम्बन्धि कार्यक्रम नै बनाएनौ ।’