व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि तालिम सम्पन्न
Saturday, December 31st, 2022, 6:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १६ पुष
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि ३ दिने तालिम शनिवार खजुरा गाउँपालिकामा सम्पन्न भएको छ । सामाजिक सुरक्षा र घटना दर्तालाई अझै प्रभावकारी बनाउने र गाउँपालिका तथा वडामा अनलाइन व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्वन्धी कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए ।
तालिममा सामाजिक सुरक्षा भत्ता ऐन २०७५ मा भएका व्यवस्था, भत्ता वितरण, नवीकरण, घटना दर्ता, संशोधन लगायतका सवालमा देखापरेका समस्या समाधान, नयाँ बनेका नियम कानुनका बारेमा जानकारी दिइएको थियो । प्रत्येक व्यक्तिको युनिकोड आइडी सहितको व्यवस्थित अभिलेख राख्ने अनलाइन प्रणाली हो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुको विवरण दर्ता, नविकरण, लागत कट्टा तथा आवश्यक प्रतिवेदन हेर्न र निकाली प्रकाशन गर्न केन्द्रीय पञ्जीकरण विभागले यो प्रणाली सञ्चालनमा ल्याएको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा अत्यन्त संवेदनशील विषय भएकाले जिम्मेवार भएर काम गर्न निर्देशन दिएका थिए । उक्त तालिममा खजुरा पालिकाकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्याय, ८ वटै वडाका अध्यक्ष, सूचना प्रविधि अधिकृत, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शाखा प्रमुख, एम.आई.एस. अपरेटरहरु, वडा सचिवहरु, फिल्ड सहायकहरु उपस्थिति रहेको थियो । तालिमको सहजिकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग निर्मल कुमार शर्माले गरेका थिए ।
व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउन जरुरी हुन्छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र आवश्यक हुन्छ ।