चार सय ४४ जना महिला तथा बालबालिका सम्पर्क विहिन
Saturday, December 31st, 2022, 6:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ पुष
भारतसहित विभिन्न मुलुकमा पुगेका ४ सय ४४ जना महिला तथा बालबालिका सम्पर्क विहिन भएका छन् । माइती नेपाल नेपालगन्जले शनिबार सार्वजनिक एक तथ्यांकमा यस्तो बताईएको छ । सन् २०२२ मा माइती नेपाल नेपालगन्जमा खोजतलासका लागि ६ सय ९३ निवेदन परेको थियो । त्यसमध्ये २ सय ४९ जना मात्र फेला परेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए । ‘हामी कहाँ निवेदन परेको मध्ये २ सय ४९ फेला परेपनि ४ सय ४४ जना सम्पर्कमा छैनन्’– उनले भने ।
नेपालगन्ज नाका भएर जोखिमपूर्ण यात्रा गर्ने सबैभन्दा बढी सुर्खेतका रहेको पाइएको छ । गत सन् २०२२ मा सबैभन्दा बढी सुर्खेतका ८६ जनाले नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रा गरेको माइती नेपालले जनाएको छ । तथ्यांक अनुसार बाँकेका ८२ जनाले जोखिमपूर्ण यात्रा गरेका छन् । जिल्लामा सबैभन्दा बढी कोहलपुरका २१ जनाले जोखिमपूर्ण यात्रा गरेका छन् । संयोजक कोइरालाले बितेको एक वर्षमा नेपालगन्ज नाका भएर जोखिमपूर्ण यात्रा गरेका ५ सय २९ जनालाई सीमा नाकाबाट उद्धार गरिएको जानकारी दिए ।
सामाजिक संजालको सुझबुझपूर्ण प्रयोग नहुँदा पछिल्लो समयमा जोखिम बढेको उनले बताए । यसअघि सन् २०२१ मा ४ सय ३४ जनालाई उद्धार गरिएको थियो । माइती नेपालका अनुसार ५ सय ३४ जनालाई पारिवारिक पुर्नमिलन गराइएको छ । यसअघि सन् २०२१ मा ४३२ जनालाई पारिवारिक पुर्नमिलन गराइएको थियो । सीमा नाकाबाट ५ सय २७ जनालाई परामर्श दिएर घर फर्काइएको माइती नेपालले जनाएको छ । मानव बेचविखन सम्बन्धी ५ वटा मुद्दा दर्ता भएका छन् ।