फरक विचारबीच पनि मेलमिलाप आवश्यक– सहमहामन्त्री राठौर
Saturday, December 31st, 2022, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १६ पुष
नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले राष्ट्रिय हित र स्वार्थका लागिफरक फरक विचारबीच पनि मेलमिलाप आवश्यक रहेको बताएक छन् । मेलमिलाप दिवसका अवसरमा शनिवार शुभकामना सन्देश दिदै सहमहामन्त्री राठौरले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको प्रवद्र्धन एवं विकास र समुन्नतिका लागि राष्ट्रिय शक्तिबीच मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।
वीपी कोइराला पञ्चायतको कठोर समयमा आफूविरुद्ध विभिन्न ८ बढी मुद्दा लगाएको राजाविरुद्ध मेलमिलापको नीति लिएर २०३३ पौष १६ मा निर्वासन त्यागेर स्वदेश फर्केका थिए । निर्वाचनमा ठूलो दल भए पनि सरकारमा सहभागी हुन नसक्नु प्राविधिक विषय भएको भन्दै सहमहामन्त्री राठौरले ऐतिहासिक र ठूलो दलका रुपमा काँग्रेस राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेर सरकारका राम्रा कामको समर्थन र हित प्रतिकूलका क्रियाकलापमा निरन्तर खबरदारी गरिरहने बताए ।
‘मेलमिलाप दिवसकै अवसरमा, नेपाली काँग्रेसको नेतृत्वमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरेर शान्तिपूर्ण रुपमा अभिमत प्रकट गर्नु भएकोमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई आभारपूर्वक सम्झन चाहन्छु’ सहमहामन्त्री राठौरले सामाजिक सञ्जालमार्फत् सन्देशमा उल्लेख गरेका छन् ।