नरैनापुरमा ‘हेल्मेट’ लगाउन सिकाँउदै प्रहरी
Sunday, January 1st, 2023, 8:04 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १७ पुष
दुर्घटना न्यूनीकरणको लागि ईलाका प्रहरी कार्यालय नरैनापुरले ट्राफिक नियमबारे सचेतना सुरु गरेको छ । यहि पुष १२ गतेबाट आफुहरुले ट्राफिक नियमबारे सचेतना सुरु गरेको ईलाका प्रहरी कार्यालय नरैनापुरका बरिष्ठ प्रहरी नायव निरिक्षक दल बहादुर विकले जानकारी दिए । नरैनापुर क्षेत्रमा बढीजसो व्यक्तिहरु बिना हेल्मेट बाईक चलाउने भएकाले दुर्घटनाको जोखिम न्युनिकरणका निमित्त आफुहरुले सबैभन्दा पहिले चालकहरुलाई हेल्मेट लगाउन सुझाव दिएको बरिष्ठ प्रहरी नायव निरिक्षक विकले बताए ।
‘यहाँ ट्राफिक सम्बन्धि सचेतना एकदमै कम रहेछ । हामीले सबैभन्दा पहिला हेल्मेट लगाउनुपर्छ भन्ने कुरामा जोड दिएका छौं,’ – उनले भने । स्थानिय पालिकासंगपनि आफुहरुले यस विषयमा समन्वय गरिरहेको जानकारी दिंदै उनले यहाँ कम्तिमा पनि १५ वटा जति ट्राफिक सचेतनामुलक बोर्डको आवश्यकता पर्ने बताए । ‘नरैनापुर गाउँपालिकासँग पनि यसविषयमा समन्वयका लागि कुरा राखिसकेका छौं ।

…..
उहाँहरुको सकरात्मक प्रतिक्रिया पाएका छौं’– बरिष्ठ प्रहरी नायव निरिक्षक विकले भने । ‘बाहिरबाट आउनेहरु बाहेक यहाँ कसैलेपनि हेलमेट लगायको पाईदैन थियो । त्यहिभएर हामीले पनि हेलमेट किन आवश्यक छ भन्ने कुरा यहाँ सिकाईरहेका छौं । सुईया, लक्षमणपुर, गंगापुर र नरैनापुर लगायतका अन्य स्थानहरुमा हामीहरु आफै खटिएर सवारी चालकहरुलाई सम्झाईरहेका छौं ।’
हेलमेट सम्बन्धि सचेतना पहिलो चरण भएको भन्दै उनले यसका अलावा कागजपत्रसहित सवारी चलाउन, ओभरटेक नगर्न, तोकिएकोभन्दा बढी यात्री नराख्न, तीव्र गतिमा सवारी नचलाउन र ट्राफिक नियम पालना गर्नका लागिपनि आफुहरुले तालुक निकायसँग समन्वय गरी काम गर्ने कालपृष्ठ दैनिकलाई बताए ।