लुम्बिनी प्रदेश सभाका सदस्यले लिए शपथ
Sunday, January 1st, 2023, 8:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ पुष
लुम्बिनी प्रदेशसभाका सदस्यहरुले आईतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् ।
८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् । स्थायी राजधानी दाङको देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा सांसदहरुले शपथ लिएका हुन् ।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४÷४ जना, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्र ३÷३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक÷एक जना सांसद रहेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबार सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरिएको प्रदेश सभा सचिव दुर्लभ पुनले बताए ।
हालसम्म अस्थायी मुकाम बुटवलमा बस्दै आएको अधिवेशन पहिलोपटक लुम्बिनीको राजधानी दाङ, देउखुरीमा नवनिर्मित प्रदेश सभा भवनमा बस्ने लागेको हो ।