बाँके प्रहरीद्वारा खुकुरी प्रहार गरी फरार रहेका ४ जना पक्राउ
Monday, January 2nd, 2023, 6:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ पुष
खुकुरी प्रहार गरी फरार रहेका ४ जना ब्यक्ति पक्राउ गरि सोमवार बाँके प्रहरीले सार्बजनिक गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज–१८ बस्ने विनय भण्डारी, राप्तीसोनारी गाउँपालिका– २ बस्ने नारायण डाँगी, बैजनाथ गाउँपालिका–५ बस्ने प्रकाश रसाईली र नेपालगन्ज–६ बस्ने तासे भन्ने प्रकाश थापा रहेका छन । उनीहरुलाई खोजतलास गर्दै पिछा गर्ने क्रममा बाँकेको डुडुवा गाउँपालिका वडा नं–२ दासपुर्वा भन्ने स्थान बाट नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
घटनामा प्रयोग भएका २ थान खुकुरी नेपालगंजको फुल्टेक्रास्थित सडक बाटो नजिक झाँडीमा र खैरो रंगको कार डुडुवा गाउँपालिकाको नं ३ बनकट्टीबाट बरामद गरी थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।
आईतवार दिउसो करिब दुई बजे नेपालगंज वडा नं ४ गणेशपुर मा ‘युपि ३२ ईयु/८६१६ नम्बरको भारतिय कारमा आएका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापा समेतका व्यक्तीहरुले नेपालगन्ज वडा नं.१२ का अनुराग शाह, जानकी गाउँपालिका वडा नं.३ का उज्वल शाह र नेपालगन्ज वडा नं.४ वस्ने सुभमजंग शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार भएका थिए ।
प्रहरीका अनुसार अंग्रेजी नयाँ बर्षको साँझ नेपालगन्जको कारकादौंमा रहेको स्टारलाईट होटलमा भएको झगडाकै कारण गणेशपुरमा खुकुरी प्रहारको घटना भएको हो । घाईतेमध्ये अनुरागको अवस्था गम्भिर छ । घाइतेको लखनउमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।