चालकलाई कारबाही र क्षतिपुर्ति माग्दै नेपालगन्जमा सडक अवरुद्ध
Monday, January 2nd, 2023, 6:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ पुष
ठक्कर दिने चालकलाई कारबाही र ट्रक धनीलाई सम्पर्कमा ल्याएर उचित क्षतिपुर्ति दिनुपर्ने माग राख्दै नेपालगन्जका विभिन्न स्थानमा सडक अवरुद्ध पारिएको छ । नेपालगन्ज उप–महानगरपालिका अन्तरगत कारकाँदो, राँझा, भुजईगाउँ लगायत स्थानमा सोमबार बिहान ११ बजेदेखी सडक अवरुद्ध गरिएको हो ।
नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोक नजिक ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री दैलेख, नारायण नगरपालिका वडा नम्बर ५ घर भई हाल नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ निवासी तेजन थापा मगरको मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि ट्रक धनी सम्पर्कमा नआएपछि आफन्तहरु आन्दोलित भएका हुन् ।
घटननालाई प्रहरीले गम्भिर रुपमा नलिएको उनीहरुको आरोप छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले ठक्कर दिने चालकलाई कारबाही, ट्रक धनीलाई सम्पर्कमा ल्याउनुपर्ने लगायत माग राखेर मृतकका परिवार तथा आफन्तहरु आन्दोलनमा उत्रिएको बताए । आन्दोलनमा विभिन्न विद्यालयका बिद्यार्थी समेत परिचालित भएका छन् ।
ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी प्रवक्ता घर्तीमगरले बताए । ट्रक धनी सम्पर्कमा नआउँदा पीडित परिवारलाई उपलब्ध गराउने क्षतिपुर्तीका विषयमा छलफल नै हुन पाएको छैन । परिवार र आफन्तले मृतकको शव नै बुझेका छैनन् ।