मोलुङ हाइड्रोपावरको आईपीओ खुला
Tuesday, January 3rd, 2023, 8:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ पुष
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले मंगलबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेका छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी आईपीओ बिक्री खुला गरेको कम्पनीले जनाएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले जारी पूँजीको ४४ प्रतिशतले हुन आउने ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्न लागेको छ ।
जसमध्ये जारी पूँजीको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन खुला गरेको छ । आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयरमध्ये ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुको लागि ५ प्रतिशत, सुनकोशी गाउँपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुका लागि २.५ प्रतिशत गरी जम्मा १० प्रतिशत साधारण सेयर निष्कासन खुला भएको कम्पनीको आह्वानपत्रमा उल्लेख छ ।
त्यस्तै वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि सर्वसाधारणको लागि निष्कासन हुने ३४ प्रतिशत अथात् २७ लाख २८ हजार ५०० कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीको लागि निष्कासन खुला गरेको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका देखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेकाहरुले कम्पनीको आईपीओमा ३ माघसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको सेयरमा भने ३ माघसम्म माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि ८ माघसम्म लम्बिनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरी प्रक्रिया अगाडि बढाएको थियो । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्ययम जोखिम रहेको संकेत गर्छ ।