चिसो र हुस्सुका कारण उडान प्रभावित
Tuesday, January 3rd, 2023, 8:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ पुष
बाक्लो हुस्सु र कुहिरोले ‘भिजिविलिटी’ नपुग्दा मंगलबार नेपालगन्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेनन् । विहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरु र संघीय राजधानी काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् ।
जहाज अवतरण र उडानको लागि भिजिविलिटी नपुग्दा पहाडी जिल्लाहरु लगायत राजधानीका लागि कुनै पनि उडान नभएको नेपालगन्ज विमानस्थलले जनाएको छ ।
कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदुरपश्चिमको बाजुरा, बझाङ्गका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिविलिटी नपुग्दा दिउँसो २ बजेसम्मका सबै उडान रद्द गरिएको विमानस्थल टावरका अफिसर महेन्द्र बहादुर सिंहले जानकारी दिए ।
मंगलबार विहानैदेखि ६ सय मिटर मात्र भिजिविलिटी रहेकाले पहाडी जिल्लाहरुका सबै उडान रद्द गर्नुका साथै राजधानीका पनि हालसम्मका सबै उडान रद्द गरिएको उनले जानकारी दिए ।
नेपालगन्ज विमानस्थलबाट दैनिक कर्णाली सुदुरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० वटा र काठमाडौँका लागि १५ वटासम्म उडान हुने गरेका छन् । यहाँबाट काठमाडौं, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा दैनिक उडान हुने गरेको छ ।
यसैगरी, केही दिनयता शुरु भएको शितलहर र चिसोका कारण बाँके र बर्दियाको जनजिवन अस्तव्यस्त छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई चिसोले सबैभन्दा बढी समस्या पारेको छ । चिसोकै कारण धेरै मजदुरले काम पाएका छैनन् ।