लुम्विनी प्रदेशको नेतृत्व गर्ने कसरतमा दलहरु
Wednesday, January 4th, 2023, 7:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० पुष
लुम्बिनी प्रदेशका ठूला राजनीतिक दलहरूले संसदीय दलको नेता टुङ्गो लगाएसँगै प्रदेशमा सरकार निर्माणको कसरत सुरु भएको छ । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले निर्विरोध रूपमा संसदीय दलको नेता चयन गरेपछि नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको हो ।
सङ्घीय सरकार गठनका क्रममा विकसित राजनीतिक घटनाक्रमसँगै लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिन एमाले र माओवादी दुवै दल तयार छन् । संसदीय दलको नेतामा एमालेबाट लीला गिरी, कांग्रेसबाट डिल्लीबहादुर चौधरी र माओवादी केन्द्रबाट जोखबहादुर महरा निर्विरोध चयन भएका हुन् ।
अब लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेका लीला गिरी र माओवादीका जोखबहादुर महरामध्ये एकले गर्ने सम्भावना छ । लुम्बिनी प्रदेशमा कुल ८७ सदस्यीय प्रदेश सभामा एमाले २९ सिटसहित सबैभन्दा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने एमालेको अडान छ ।
प्रदेश सभा सदस्य भूमिश्वर ढकाल एमाले प्रदेशकै ठूलो दल बनेकाले सरकारको नेतृत्वमा पनि आफूहरूको दाबी रहने बताउँछन् । उता सरकारको नेतृत्वका लागि माओवादी केन्द्रले समेत दाबी गरेको छ ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जोखबहादुर महरा रोल्पा (क)बाट निर्वाचित भएका छन् । माओवादीले महराकै नेतृत्वमा लुम्बिनी प्रदेश सरकार बन्नुपर्ने अडान राखेको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीले पहिल्यैदेखि लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्ने माग र अडान राख्दै आएकाले आफूहरूकै नेतृत्वमा नयाँ सरकार बनाउने प्रयास भइरहेको बताउँछन् ।
प्रदेश सभामा माओवादीको संख्या नौ रहेको छ । कांग्रेसले आवश्यक परेको अवस्थामा सरकारको नेतृत्वका लागि अघि बढ्ने बताए पनि केन्द्रको सत्ता समीकरणअनुसार नै प्रदेशमा पनि सरकार बन्ने देखिएको छ ।
कांग्रेस लुम्बिनी प्रदेशमा अहिले प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्ने सम्भावना बढेको छ । प्रदेश सभामा २७ सिटसहित दोस्रो ठूलो राजनीतिक दलका रूपमा कांग्रेस रहेको छ । लुम्बिनी प्रदेशमा सरकार निर्माणका लागि ४४ सदस्य आवश्यक पर्छ । एमाले र माओवादी केन्द्र मिलेर जम्मा ३८ सांसद संख्या हुन्छ । सरकार निर्माणका लागि अपुग अरू थप छ सदस्य संख्या अन्य दलबाट खोज्नुपर्ने अवस्था छ ।