सरसफाईकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री सेट वितरण
Wednesday, January 4th, 2023, 7:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० पुष
नेपालगन्ज उप–महानगरपालिकामा कार्यरत सरसफाईकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री सेट (पिपिई सेट) वितरण गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकासंगको समन्वयमा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना–बाँके अन्तर्गत आज नेपालगन्ज उप–महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपालगन्ज उप–महानगरपालिकामा कार्यरत ६५ जना सरसफाईकर्मीहरुलाई पिपिई सेट वितरण गरेको हो ।
त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले वितरित पिपिई सेटको सही सदुपयोगले जोखिमबाट बच्न सहयोग पुग्ने बताए । कार्यक्रममा उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत रिजाल, बी–ग्रुपका अध्यक्ष पुन, वातावरण इन्जिनियर डिसी, एमडिएम फ्रान्सका नेपालगन्ज संयोजक थापाले वितरित पिपिईले सरसफाईकर्मीलाई सुरक्षा प्रदान गर्दै जीवन रक्षाका लागि सहयोगी हुने विश्वास व्यक्त गरेका थिए ।
नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, बी–ग्रुपका अध्यक्ष टेकबहादुर पुन, नेपालगन्ज उप–महानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी, एमडिएम फ्रान्सका नेपालगन्ज संयोजक बसन्त थापा, पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना–बाँकेका व्यवसाय विकास अधिकृत समद सिद्धिकी लगायतले सरसफाईकर्मीलाई पिपिई वितरण गरेका हुन् । जर्मन सहयोग जिआइजेड र एमडिएम फ्रान्सको सहयोगमा बी– ग्रुपले पिपिई सेट वितरण गरेको हो ।
पिपिई सेटमा गमबुट १ जोडी, एप्रोन १ पिस, ज्याकेट १ पिस, ट्राउजर १ पिस, तौलिया १ पिस, प्याकिंग झोला १ पिस, क्याप १ पिस, मास्क ३ डिब्बा, स्यानीटाइजर ६ बोतल, भिजिविलिटी ज्याकेट १ पिस, रबर पञ्जा २ जोडी, नाइट्राल पञ्जा २ जोडी, लुगा धुने साबुन ६ पिस र नुहाउने साबुन ६ पिस रहेको बी–ग्रुपकी कृषि प्राविधिक धना रावलले जानकारी दिइन् ।
यसअघि पनि नेपालगन्ज–२३ हिरमिनियास्थित ल्याण्डफिल साइटमा कार्यरत ४० जना सरसफाइकर्मीहरुलाई पिपिई सेट वितरण गरेको थियो । बी–ग्रुपले पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना–बाँके अन्तर्गत कृषक र सरसफाईकर्मीहरुलाई पिपिई सेट वितरण गर्दै आइरहेको छ । पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना–बाँके नेपालगन्ज उप–महानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा सञ्चालनमा रहेको परियोजना संयोजक इन्द्रजीत सुनारले बताए ।
अप्रिल २०२२ बाट सुरु भएको यस परियोजनाले फोहर व्यवस्थापन तथा विषादी प्रयोग गर्दा हुने हानी रोक्न सरसफाईकर्मी र कृषकहरुको क्षमता विकास तथा सचेतना अभिबृद्धि गर्ने उद्देश्य लिएको छ ।