मेल्बिनको सम्झनामा साताव्यापी कार्यक्रम गर्दै लायन्य क्लबहरु
Thursday, January 5th, 2023, 6:12 pm
Kalpristha

…………
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ पुष
लायन्स क्ल्ब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको जन्मोत्सवको अवसरमा बाँकेमा विभिन्न सामाजिक कार्य गर्ने तयारी गरिएको छ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया नम्बर ४ बाँके र बर्दियाका लायन्स क्लबहरुले सप्ताहव्यापीहरुमा विभिन्न सामाजिक सेवाका कार्यक्रम गर्ने घोषणा गरेका छन् । बिहिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै १४४ औं मेल्बिन जोन्स डे सेलिब्रेसन कार्यक्रम संयोजक साबित्रा बस्नेतले एक साताभरी गर्ने सामाजिक कार्यहरु सार्वजनिक गरेकी थिइन् ।
जसमा नेपालगन्जको पुरैनी स्वास्थ्य चौकीमा महिला क्यान्सर सम्बन्धी परिक्षण, बर्दिया बढैयातालको नेपाल राष्ट्रिय मावि बैजनाथ– ७ पेडारी, त्रिभुवन मावि कोहलपुर, नेपालगन्ज औद्योगिक क्षेत्र र नेपालगन्जका केहि सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण, आखाँ शिविर, नीलसागर सेवाश्रम कोहलपुर, समाज विकास प्रवद्र्धन केन्द्र तेजनगर, नेपालगन्ज–१८ स्थित दृष्टिविहिन बालबालिका, अन्जनी माता रसोई भेरी अस्पताल नेपालगन्जमा खाद्यान्न वितरण गरिनेछ ।
खजुरा क्षेत्रमा रोजगार र लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना, कोहलपुरको त्रिभुवन मावि, बैजनाथको नेपाल राष्ट्रिय मावि बैजनाथमा शैक्षिक सामाग्री वितरण गरिनेछ ।
नेपालगन्जको बसपार्कमा एचआइभी सम्बन्धी कार्यक्रम, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, जानकी गाउँपालिकाको भाटनपुरवामा दात शिविर, नेपालगन्ज मनिकापुर थपुवामा नाक, कान, घाँटी शिविर, मानसेवा आश्रम नेपालगन्जमा सर्जिकल र औषधी वितरण, जनता मावि नयाँ वस्ती राझाँमा स्यानेटरी प्याड भेन्डीङ मेशीन वितरण लगायतका कार्यक्रम गर्ने योजना रहेको कार्यक्रम संयोजक बस्नेतले बिहिबार पत्रकार सम्मेलनमा जानकारी गराईन् । लायन्स क्लब इन्टरनेशनल विश्वको सबैभन्दा ठुलो सामाजिक संस्था हो । सन् १९१७ सालमा मेल्बिन जोन्सले स्थापना गरेको लायन्स क्लब इन्टरनेशनलमा १४ ला भन्दा बढी सदस्यहरु आवद्ध भएर सामाजिक सेवा गरिरहेका छन् ।
सन् १९७१ सालदेखि नेपालमा क्रियाशिल रहेको लायन्स क्लबमा करिब ५० हजार सदस्यहरु आवद्ध छन् । लायन्सका संस्थापक मेल्बिनको जन्म सन् १८७९ को जनवरी १३ तारिकमा भएकोे थियो । उनको जन्मोत्सवको अवसर पारेर बाँके र बर्दियामा पुष २३ गतेदेखि २९ गते सम्म बाँके र बर्दियाका विभिन्न लायन्स क्लबहरु मार्फत विभिन्न सामाजिक कार्य गर्दैछ ।
लायन्सले समाजको आवश्यकता अनुसार थुप्रै सामाजिक कार्य गर्दै आएको पुर्व गर्भनर श्याम शाक्यले बताए ।
विशेषगरी लायन्सले स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने भएपनि कोरोनाको महामारी, बाढी पिडितलाई सहयोग गर्ने देखि लिएर अन्य आपतकालिन समयमा काम गर्ने गरेको शाक्यले बताए । बाँकेमा लायन्सले दाँतको अस्पताल, मधुमेहको उपचार, एम्बुलेन्स सेवा जस्ता परियोजनाहरु दिर्घकालिन रुपमा संचालन गरिरहेको शाक्यले पत्रकार सम्मेलनमा बताए ।
बिहिबार भएको पत्रकार सम्मेलनमा शाक्यसँगै लायन्सका सिनियर डिष्ट्रिक चिफ ज्ञानेन्द्र श्रेष्ठ, डिष्ट्रिक चिफ शसी श्वार, डिष्ट्रिक को– चिफ सरिता शाक्य, डिष्ट्रिक एडभाईजर उमा थापा, शुस्मा महर्जन र विवेक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।