चिसोबाट प्रभावित जनतालाई सहयोग गर्दै स्थानीय सरकारहरु
Friday, January 6th, 2023, 6:33 am
Kalpristha
अत्याधिक रुपमा बढिरहेको चिसोबाट जनतालाई जोगाउन बाँकेका स्थानीय तहले विभिन्न योजना बनाई काम गरिरहेका छन् । बाँकेको नरैनापुर, खजुरा गाउँपालिकाले बिहिबारदेखि ३ दिनका लागि बन्द गरेका छन् । प्रभावित क्षेत्रमा दाउरा समेत वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । साथै पालिकाले विपन्नको सुचि समेत तयार पारेको छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २१ पुष
बाँके लगायत तराईका जिल्लामा चिसो बढ्ने क्रममा छ । चिसो बढेसँगै दैनिक रुपमा मानवीय जनजीवन प्रभावित हुँदै गएको छ । स्थानीयहरु सहज रुपमा बाहिर हिडडुल गर्न सकेको अवस्था छैन । अत्यधिक चिसोका कारण बालबालिका, विपन्न वर्ग, जेष्ठ नागरिक तथा सुत्केरी र गर्भवती महिलाहरु झनै जोखिममा छन् । बाँकेमा मंसिर देखि माघ÷फाल्गुनसम्म बाक्लो हुस्सु लाग्ने र अत्यधिक चिसो हुने गर्दछ । चिसोबाट केटाकेटी र बृद्धबृद्धाहरूलाई बढी असर हुने गरेको छ । यसैगरी न्यानो कपडा नभएका र गरीब परिवार शीतलहरको उच्च जोखिममा रहने गर्दछन् ।
अत्याधिक रुपमा बढिरहेको चिसोबाट जनतालाई जोगाउन बाँकेका स्थानीय तहले विभिन्न योजना बनाई काम गरिरहेका छन् । बाँकेको नरैनापुर, खजुरा गाउँपालिकाले बिहिबारदेखि ३ दिनका लागि बन्द गरेका छन् । प्रभावित क्षेत्रमा दाउरा समेत वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । साथै पालिकाले विपन्नको सुचि समेत तयार पारेको छ । ‘सात सय जना विपन्नको सुचि तयार पारिसकेका छौं । अबको हप्तादिन भित्र सबै विपन्न परिवारलाई ब्ल्याङकेट र खानाको व्यवस्था गर्ने छौं ।’–गाउँपालिका अध्यक्ष शाहले भने ।
डुडुवामा पनि दाउरा वितरण भैरहेको डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौडेलले बताए । ‘यस विषयमा थप के गर्न सकिन्छ भनेर हामी छलफल गर्दै छौं ।’– प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने ।
नेपालगन्ज उप–महानगरपालिकाले पनि दाउरा वितरण गरिरहेको छ भने, शुक्रबार बाट विद्यालय समेत बन्द भएका छन् । न्यानो कपडा बाँड्ने विषयमा शुक्रबार नै छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाईने नेपालगन्ज उप–महानगरपालिका उप–प्रमुख कमरुद्दिन राईले जानकारी दिए ।
हरेक चोकमा दाउराको व्यवस्था गरिएको बताउदै बैजनाथ गाउँपालिकाका उप–प्रमुख निर्मला रोकायाले पालिकाले न्यानो कपडा वितरण समेत गरिरहेको बताइन् । पालिकाले विद्यालय बन्द गर्ने विषयमा शिक्षा शाखासंग छलफल पछि आवश्यक निर्णय गर्ने गाउँपालिकाका उप–प्रमुख रोकायाले जानकारी दिइन् ।
चिसोबाट बढी जोखिममा पर्ने बालबालिका, विपन्न वर्ग, जेष्ठ नागरिक तथा सुत्केरी र गर्भवति महिलाहरु लगायतलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा आफुहरुले कृतिम अभ्यास गरेको राप्ती सोनारी गाँउपालिकाका उप–प्रमुख मनिसा सिंह थारुले जानकारी दिईन् । उनले विहिबार र शुक्रबार विद्यालय बन्द गरिएको समेत बताईन् । ‘हामीले यस्तो बेलामा कसरी चिसोबाट जोगिन सकिन्छ भन्ने विषयमा समुदाय स्तरमा कृतिम अभ्यास समेत गरेका छौं । जसमा चिसोबाट जोखममा पर्ने व्यक्ति तथा समुहलाई कसरी जोगाउन सकिन्छ भन्ने कुरा समेटेका थियौं । यसका साथै विपन्न र लक्षित वर्गलाई न्यानो कपडा वितरण गर्ने योजना समेत छ ।’– उनले भनिन् ।
वडा कार्यालयको सिफारिस लिई आउने विपन्न परिवारलाई ओढ्ने कम्बल वितरण गरिरहेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक ‘तुफान’ले कालपृष्ठ दैनिकलाई बताए । उनले विद्यार्थीहरुलाई आपतकालिन विदा दिएको जानकारी दिंदै चिसोबाट जोगिन के गर्ने भन्ने सन्दर्भमा वडा विपत कमिटी मार्फत जनसमुदायमा सचेतनाका कार्यक्रमहरु गरिरहेको बताए । उनले खजुरा गाउँपालिकाका सबैजसो चोक र चौराहामा दाउरा वितरण गरेको समेत बताएका छन् ।
जानकी गाउँपालिकाले भने स्थानियलाई चिसोबाट जोगाउन दाउरा उपलब्ध बनाउनका लागि पहल थालेको छ । यसका साथै चिसोबाट स्थानियलाई जोगाउन विपन्नलाई कम्बल वितरण गरिरहेको र विद्यालय समेत बन्द भईसकेको खजुरा गाउँपालिकाका अध्यक्ष छब्बन् खाँ बताउँछन् ।
कोहलपुर नगरपालिकाले वडा विपत समिति मार्फत दाउरा वितरण लगायतका काम गरिहेको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १४ का वडाध्यक्ष नमबहादुर आले मगरले बताए ।
बाँके जिल्लामा यस वर्ष शितलहरवाट ३६ हजार परिवारका एक लाख ७८ हजार जनसख्या प्रभावित हुनसक्ने आँकलन गरिएको छ । जसमध्ये डुडुवा गाउँपालिकाका बासिन्दा सबैभन्दा बढी ५२ प्रतिशत प्रभावित हुने जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । यस्तै, नरैनापुर गाउँपालिकामा ५१ प्रतिशत, जानकी गाउँपालिकामा ४० प्रतिशत, राप्ती सोनारी गाउँपालिका र नेपालगन्ज उप–महानगरपालिकामा २५–२५ प्रतिशत, खजुरा गाउँपालिकामा २३ प्रतिशत, बैजनाथ गाउँपालिकामा २१ प्रतिशत तथा कोहलपुर नगरपालिकामा १७ प्रतिशत घरपरिवार चिसोबाट प्रभावित हुन सक्ने उनले जानकारी दिए ।
चिसोबाट जोगिन जिल्ला विपद व्यवस्थापन समिति बाँकेले ‘शितलहर आकस्मिक योजना’ बनाएको छ । जनचेतना, दाउरा वितरण, न्यानो कपडा वितरण लगायतका कामहरु जिल्ला विपद व्यवस्थापन समितिले गरिरहेको समितिका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । अबको २–३ दिनमा मौसममा केहि सुधार हुने अपेक्षा गरिएको ज्ञवालीले बताए ।