हुम्लालाई चिनाउन गोल्ड कप फुटबल गरिदैं
Friday, January 6th, 2023, 11:00 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, २२ पुष
हिमाली जिल्ला हुम्लामा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । हुम्ला फुटबल एकेडेमीको आयोजनामा हुम्ला गोल्ड कप फुटबल–२०८० आयोजना हुने भएको हो ।
हुम्ला फुटबल एकेडेमी पछिल्लो समय हुम्लामा फुटबल गतिविधि गरिरहेको संस्था हो । एकेडेमीले २०७७ सालदेखि फुटबल प्रशिक्षणको सुरुआत गरेको थियो । सुरुआती समयमा १० जना खेलाडीले प्रशिक्षण गरेपनि अहिले तीन सय खेलाडीले एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।
हुम्लामा फुटबल गर्न त्यति सहज छैन । भौगोलिक विकटताका कारण मैदान अभाव छ । प्राविधिक पक्षसँगै आर्थिक रुपमा प्रतियोगिता र प्रशिक्षण कार्य संचालन गर्न निकै कठिन भएको बताउँछन हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावत । तर आफनो जिल्लालाई चिनाउन फुटबल पनि एउटा सशक्त माध्यम बन्न सक्ने भन्दै फुटबललाई प्राथमिकता दिएर काम गरिरहेको रावतले कालपृष्ठ न्युज डटकमलाई बताए ।
थुप्रै कठिनाई र बिकटतामा सफलता प्राप्त गर्ने उद्देश्य सहित हुम्लामा फुटबल प्रतियोगिता गर्ने प्रयास गरिएको उनले बताए । उनले भने, ‘हुम्ला भौगोलिक रुपमा बिकट छ, त्यो सबैलाई थाहा छ । तर हामी बिकटता र अभावमा सफलता खोज्ने प्रयास गरिरहेका छौं । फुटबलको माध्यमबाट हुम्लालाई चिनाउन खोजिरहेका छौं । प्रतिभाशाली खेलाडी उत्पादन गरेर हुम्लालाई चिनाउन चाहन्छौं ।’
हुम्लामा फुटबल प्रशिक्षणलाई प्राथमिकता दिएर आयोजना गरिरहेको हुम्ला फुटबल एकेडेमीले बैशाखमा १५ गतेदेखि हुम्ला गोल्डकप फुटबलको आयोजना गर्ने बताएको छ ।
हुम्लामा पत्रकार सम्मेलन गर्दै आयोजक हुम्ला एकेडेमीले प्रतियोगिता सफल बनाउन सरोकारवालासँग छलफल कार्य अगाडी बढाएको छ । हुम्लालाई फुटबलको माध्यमबाट चिनाउनको लागि प्रतियोगिता आयोजना गर्न लागिएको हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले बताए । आफुहरुले नियमित रुपमा प्रशिक्षण सुरु गरेदेखी विद्यार्थीमा फुटबलको बारेमा निकै रुची जागेकोले प्रतियोगिता गर्न उत्साही भएको अध्यक्ष रावतले जानकारी गराए ।
उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्दै हुम्लालाई चिनाउन पनि प्रतियोगिता गर्न लागेको उनले बताए । प्रतियोगितालाई सफल बनाउन आर्थिक अभाव हुने भएकोले स्थानीय तह, कर्णाली प्रदेश सरकार र विभिन्न संघसंस्थालाई सहयोगका लागि रावतले अनुरोध गरेका छन् । प्रतियोगितामा हुम्ला जिल्ला र बाहिरी जिल्लाका क्लबले भाग लिने पाउने आयोजकले बताएको छ ।
फागुनको दोस्रो सातादेखि टिम दर्ता सुरु गरिनेछ ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार उपविजेताले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले एक हजार रुपैयाँ पाउनेछ । प्रत्येक खेलमा उतकृष्ठ खेलाडीलाई एक हजार रुपैयाँ समेत प्रदान गरिने भएको छ ।