डोल्पामा अब सीधा यातायात सेवा
Saturday, January 7th, 2023, 2:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, २३ पुष
भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ । मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान भएपछि आजबाट डोल्पा सीधा यातायात सेवा सञ्चालन भएको हो । देशका विभिन्न ठाउँबाट अब डोल्पा सीधा जान सकिने भएको छ ।
सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगन्जदेखि सीधा विकास निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालवाहक गाडीलगायतका सवारीसाधन रोक लगाएका थिए । आजका दिनदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए ।
स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भए पनि अब कुनै रोकावट नहुने र काठमाडौं नेपालगन्ज लगायतका जुनसुकै जिल्लाबाट सिधैँ सवारीसाधन डोल्पा पुग्ने व्यवस्था मिलाइएको उनले बताए ।
आजबाट दुवै जिल्लाका प्रहरीले गस्ती गरिरहेको र सवारीसाधन पुलबाटै पास भइरहेको उनले जानकारी दिए । नेपालगन्जदेखि सिधैँ डोल्पा गाडी आउँदा यात्रु तथा ढुवानी भाडादर समेत घट्ने भएको छ ।