बाँकेमा प्रथम प्रोफेशनल राष्ट्रिय हाप्किडो प्रतियोगिता हुने
Tuesday, January 10th, 2023, 9:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ पुष
माघ दोस्रो साता देखि बाँकेमा प्रथम प्रोफेशनल राष्ट्रिय हाप्किडो प्रतियोगिता २०७९ हुने भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघले मंगलबार एक पत्रकार सम्मेलन मार्फत बाँकेमा राष्ट्रिय स्तरको हाप्किडो प्रतियोगिता हुने जानकारी दिएको हो । सो प्रतियोगिता नेपाल मार्शल आर्ट्स हाप्फिडो संघको आयोजना तथा बाँके जिल्ला हाप्किडो संघको सहकार्यमा हुन गईरहेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रिय प्रशिक्षक तथा प्रतियोगिता संयोजक रवी सुनारले नेपालगन्जमा हुने सो प्रतियोगिता वृहत रुपमा आयोजना हुन गैरहेको जानकारी दिए ।
माघ महिनाको दोश्रो हप्तामा हुने प्रतिस्पर्धामा सात प्रदेश टीम खेलाडीको सहभागीता हुनेछ । यसराष्ट्रिय प्रतियोगिताको लागी गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा छनौट प्रकृया बाट खेलाडीहरुले सहभागिता जनाउने छन । यस राष्ट्रिय स्तरीय प्रतियोगितामा खेलाडी, प्रशिक्षक रअफिसियलहरु गरी जम्मा ५ सय जनाको सहभागिता रहने छ ।
प्रतिस्पर्धामा फाइटतर्फ महिला र पुरुष दुवैमा १०–१० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । ४०–४४, ४४–४८, ४८–५२, ५२–५६, ५६–६०, ६०–६४, ६४–६८, ६८–७२, ७२–७६, ७६+तौल समूहमा प्रतिस्पर्धा हुने छ । यस्तैः सेल्फडिफेन्स ÷ डेमोष्ट्रेशन, हाईफल, लङफल र विपन टेक्निकमा फ्री तौलमा पनि प्रतिस्पर्धा हुनेछ ।
आगामी २०७९ साल माघ १३ र १४ गते दुई दिन सम्म नेपालगन्जमा भव्य र सभ्य रुपमा प्रथम प्रोफेशनल राष्ट्रिय हाप्किडो प्रतियोगिता आयोजना गर्न गईरहेको नेपाल मार्शल आर्ट्स हाप्किडो संघका फाउण्डर तथा अध्यक्ष बरिष्ठ प्रशिक्षक कालि बहादुर घर्तिमगरले जानकारी दिए ।
‘हाप्किडो कोरियन परम्परागत मार्शल आर्ट्स खेल बिधा हो । आत्मरक्षाको लागि पनि उपयुक्त मानिने यो खेल विश्वभर खेलिन्छ । नेपालमा बिगत १६ वर्षदेखि खेल गतिविधि हुदै आएता पनि २०७३ सालमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय खेल संघको रुपमा विधिवत दर्ता भएपछि यस खेलको विकास र विस्तारका संगै केन्द्र, प्रदेश र जिल्लाहरुमा विभिन्न कार्यक्रम तथा गतिविधि आयोजना गर्दै आइरहेका छौं । यो कार्यक्रम पनि सोहि अन्र्तगत हुदैछ ।’– उनले भने ।
यो खेल स्थानीय तहको सबैजसो स्कुल देखि नै प्रशिक्षण हुदै आएको बताउँदै देशैभर ७५ हजार खेलाडीहरु हाप्किडो खेलमा आबद्व रहेको घर्तिमगरले जानकारी दिए ।