पायनियरको ११औं साधारण सभा सम्पन्न
Tuesday, January 10th, 2023, 9:25 pm
Kalpristha
साना व्यवसाय वा सानो पुजींबाट स्थापित व्यवसायहरु जगेडा कोषको अभावमा अर्थतन्त्रमा आएको परिवर्तन एवम् सो परिवर्तनको कारण नियमक निकाय नेपाल राष्ट्र बैंकले आफ्ना वित्तिय नियन्त्रणका औजार चलाउदा, समग्र व्यवसायीक क्षेत्र नै संकटमा पर्न गएको उनले बताईन ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ पुष
पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मंगलबार भएको साधारण सभामा गणपुरक संख्या घोषणा, आर्थिक वर्ष ०७८÷०७९ मा संचालक समिति तथा अन्य समिति, उप–समितिले वर्ष भरि गरेका निर्णय अनुमोदन सम्बन्धमा, सेवा कार्यालय संचालन तथा थप सेवा केन्द्रको अनुमती लिने सम्बन्धमा छलफल गरिएको थियो ।
पायोनियर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष शसी श्वारको अध्यक्षतामा भएको साधारण सभामा विनियम संशोधन, नीति तथा कार्यविधि पारित तथा अनुमोदन सम्बन्धमा, शेयर पुँजी बृद्धि एवम् संस्थाको लागि जग्गा खरिद लगायतको बारेमा पनि छलफल भएको थियो ।
पायोनियर बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु खनालका अनुसार साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर धनीहरुबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र संस्था प्राप्ति, एकीकरण तथा संचालन सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका विविध विषयमा पनि छलफल गरिएको थियो ।
यसैगरी साधारण सभाको अवसरमा जेष्ठ नागरिक समेत गरि १३ जनालाई सम्मान गरिएको थियो । साधारण सभामा वर्षभरी उत्कृष्ट काम गर्ने उत्कृष्ट कर्मचारीको रुपमा आशा बराललाई सम्मानत गरिएको थियो । सभामा संचालकको तर्फबाट अध्यक्षले, सचिवले, लेखा सुपरिवेक्षण समितीले र कोषाध्यक्षले प्रतिवेदन पेश गरेका थिए ।
सो साधारण सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष श्वारले कोभिड–१९, युक्रेन युद्ध र अन्य कारणले विश्व अर्थ व्यवस्थामा पारेको प्रभावले गर्दा नेपाल पनि यसबाट अछुतो रहन नसकेको बताउँदै अनुत्पादक क्षेत्रमा लगानी बढ्नु, आयातमा बृद्धि हुनु जस्ता कारणले विदेशी मुद्रा संकुचन हुन गई केही व्यवसायिक क्षेत्र सुशुप्त अवस्थामा चलीरहेको र केही बन्द हुन पुगेको बताईन् ।
साना व्यवसाय वा सानो पुजींबाट स्थापित व्यवसायहरु जगेडा कोषको अभावमा अर्थतन्त्रमा आएको परिवर्तन एवम् सो परिवर्तनको कारण नियमक निकाय नेपाल राष्ट्र बैंकले आफ्ना वित्तिय नियन्त्रणका औजार चलाउदा, समग्र व्यवसायीक क्षेत्र नै संकटमा पर्न गएको उनले बताईन । मंहगीका कारण ब्यक्तिले खर्च गर्ने क्षमतामा कमी, बैक वित्तिय संस्थाले कर्जा लगानी नगर्ने, रोजगारीका क्षेत्र दिनानु दिन घट्दै जानुको कारण, अर्थतन्त्र ठिक ढंगबाट नचलेको कारण बैंक वित्तिय संस्थामा निक्षेप घट्दो अवस्थामा रहेको अध्यक्ष श्वारले उल्लेख गरिन् ।