लिला गिरीको गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्मको यात्रा
Wednesday, January 11th, 2023, 7:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ पुष
लिला गिरी रूपन्देहीको कम्युनिष्ट आन्दोलनमा चिनिएका नाम हुन् । गुल्मीको रूरू गाउँपालिका ५ बलेटक्सारमा वि.स. २०११ सालमा जन्मिएका गिरी किसान आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा उदाएका हुन् । बाबु बुद्धिनाथ गिरी र आमा केशवकुमारी गिरीको कोखबाट जन्मिएका गिरी २०२२ सालदेखि १२ वर्षकै उमेरमा गुल्मीका अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीको नेतृत्वमा पञ्चायती व्यवस्था विरूद्ध आन्दोलनमा सहभागी भए ।
गुल्मीमा रहँदै व्यवस्था विरोधी आन्दोलनमा सक्रिय गिरी २०३४ सालमा परिवारसहित रूपन्देहीमा बसाई सरेपछि कम्युनिष्ट पार्टीमा आवद्ध भए ।
२०४६ साल पुस १५ गते तत्कालिन नेकपा मालेको सदस्यता लिए । २०४६ सालमै वाममोर्चाको जिल्ला सदस्य बनेका गिरी २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य भए । राजनीतिक र सामाजिक काममा सक्रिय गिरी २०४९ सालमा बहुदलीय व्यवस्थापछि गठित तत्कालिन शंकरनगर गाउँ विकास समितिको जननिर्वाचित पहिलो गाविस अध्यक्ष समेत बनेका थिए । राजनीतिसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय उनी २०५६ सालमा एमाले रूपन्देहीको जिल्ला कमिटी उपसचिव भए । २०५८ देखि २०६१ सम्म कार्यवाहक सचिव भएर कार्यसम्पादन गरे ।
२०६१ मा सम्पन्न पार्टी अधिवेशनबाट जिल्ला कमिटी सचिव बनेका गिरी २०६१ माघमा जेल परे । तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता कब्जा गरेपछि त्यसविरूद्ध शुरू गरिएको आन्दोलनको नेतृत्व गरेको आरोपमा २०६१ माघ २७ जेल परेका गिरी २०६२ वैशाख २८ गते मात्रै रिहा भएका थिए । २०६६ सालदेखि २०६९ सम्म एमाले रूपन्देहीको अध्यक्ष बने। सचिव र अध्यक्षको रूपमा गिरीले ९ वर्ष जिल्लामा नेतृत्व गरे ।
जिल्ला नेतृत्वबाट बाहिरिए पनि गिरीको राजनितिक जिम्मेवारी भने अकासिदै गयो । २०६९ सालमा एमालेको साविक लुम्बिनी अञ्चल समन्वय कमिटि सदस्य र संगठन विभाग प्रमुख बने । पार्टी कमिटीमा कटिबद्ध गिरी २०७१ साल असार १९ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । गिरीले नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण पछि बनेको नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी पुरा गरेका थिए । २०७८ साल मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा भएको पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट भने उनी नेकपा एमालेको पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका थिए । गिरी हाल पार्टीको पोलिटव्यूरो सदस्यसँगै लुम्बिनी प्रदेशका सह–इन्चार्ज हुन् ।
नेकपा एमाले भित्र अत्यन्त सरल नेताका रूपमा चिनिने गिरी पार्टी बाहिर पनि जीवनभर निष्ठाको राजनीति गर्ने ईमान्दार नेता र समाजसेवीको रूपमा चिनिन्छन् । स्नातकसम्मको अध्ययन र किसान आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा लागेका उनले कृषि, पशुपालन, वन विज्ञान र समाजशास्त्रमा विशेष दख्खल राख्छन् । रूपन्देहीको स्थापित ‘सोह्र–छत्तीस मौजा सिँचाई प्रणाली’ को नेतृत्व हुँदै किसान आन्दोलनमा लागेकाले गिरीलाई किसान नेताका रूपमा पनि चिनिन्छ ।
२०७४ साल मंसिर २१ गते सम्पन्न पहिलो प्रदेशसभा निर्वाचनमा रूपन्देहीको क्षेत्र नं २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका गिरी शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग वन, पर्यटन, वातावरण मन्त्री बनेका थिए ।
मन्त्रालयको जिम्मेवारी बाँडफाँट नभईसक्दा केही समय आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा पनि रूपन्देहीको क्षेत्र नं. २ (१) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित गिरी प्रादेशिक संरचनापछि गठन हुने लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन् ।