राप्ती सोनारीमा माँघी मिलन
Wednesday, January 11th, 2023, 7:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नरैनापुर, २७ पुष
राप्ती सोनारी गाँउपालिका वडा नं. ४ मा रहेको दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस अबसरमा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले माघी थारु समुदायको महान पर्व भएको हुदा सबैले एक आपसमा माया प्रेमका साथ मनाउँनु पर्ने बताए ।
नरैनापुरका अध्यक्ष शाहले थारु जातीको उत्थानका लागि आफुले आफ्नो स्तरबाट सक्दो प्रयास गर्दैआएको बताउँदै यसका लागि सबैको सहकार्यको आवश्यक्ता रहेको बताए । उनले थारु समुदाय अनेक विचारमा विभाजित हुँदा खास मुद्दा ओझेलमा परेकोले अब बिभाजित नभई एकताबद्ध भएर अगाडि बढ्न शुभ कामना दिए । राप्तीसोनारी गाँउपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले थारू समुदायको मुक्ति र सही नेतृत्वको विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताईन । उनले आफ्नो अधिकारसँगसँगै पहिचान र अस्तित्व बचाउन निरन्तर राजनीतिक संघर्ष भाग लिन आह्वान गरिन् ।
कार्यक्रममा नरैनापुर गाँउपालिका अध्यक्ष शाह, नरैनापुरका प्रेस सल्लाहकार आलम खान र बेसका केन्द्रीय सदस्य संगिता थारुलाई सम्मान गरिएको थियो । दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रमको समन्वय राप्ती सोनारी गाँउपालिकाले गरेको थियो भने आर्थिक सहयोग नरैनापुर गाँउपालिकाले गरेको सहकारीका अध्यक्ष संजिता थारुले बताईन ।
सहकारी संस्थाका अध्यक्ष संजिता थारुको अध्यक्षतामा भएको कार्यक्रमा राप्ती सोनारी गाँउपालिकाको वडा नं. ६ का अध्यक्ष लबराज खरेल, वडा नं. ७ का अध्यक्ष राम लखन थारु, बेसका केन्द्रीय सदस्य संगिता थारु, आलम खान लगायतले शुभकामना व्यक्त गरेका थिए ।