क्यान्सरको सेकाई अब खजुरामै
Friday, January 13th, 2023, 6:43 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ पुष
सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा लिन्याक मेसिन आएको छ । लामो समयदेखि ल्याउन खोजिएको सो मेसिन आईपुगेसंगै क्यान्सरको उपचारपछि गरिने बाहिरी सेकाईको लागि अन्यत्र जानुपर्ने बाध्यता हटेर जाने अपेक्षा गरिएको छ । लिन्याक मेसिन क्यान्सरको रेडियसनको माध्यमबाट उपचार गर्ने मेसिन हो ।
अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर निरज भट्टराईका अनुसार यो रेडियोथेरापीको लागि अति आवश्यक मेसिन हो । मेसिन चाँडै सञ्चालनमा आउने जानकारी दिंदै डा. भट्टराईले नेपालको चितवनपछि पश्चिम क्षेत्रमा र सुदूरपश्चिममा यो पहिलो लिन्याक मेसिन भएको बताएका छन् । उनले भने, ‘लिन्याक, नारायणी तरेर आईपुगेको पहिलो ठुलो मेसिन हो । यसभन्दा अघि नारायणी यता यस्तो मेसिन भित्रिएको थिएन । सेकाईको लागि समस्या नभएपनि बाहिरी सेकाईको लागि भने बाहिर पठाउनुपर्ने बाध्यता थियो ।अब मेसिन सन्चालनमा आउने वित्तिकै हट्ने छ । स्वास्थ्य मन्त्रालयले गरेको महत्वपूर्ण कामको भने, पश्चिम नेपालले स्वास्थ्य क्षेत्रमा पाएको ठुलो उपलब्धी पनि हो ।’

….
स्वास्थ्य मन्त्रालयको करिब २५ करोडको बजेटमा सो मेसिन खजुरा आईपुगेको हो । सो मेसिन राख्नको लागि बनाइएको बंकरमा पानी जम्ने समस्याको पनि समाधान गरिसकिएको डा. भट्टराईले जानकारी दिए । ‘अव हामी यहींबाट क्यान्सर सम्बन्धि सबै विधाका उपचारसेवाहरु दिन सक्छौं ।’
‘यो सेक्ने मेसिन हो । यो नहँुदा विरामीको अप्रेसनपछि चितवन जानुपर्ने बाध्यता अब हट्ने छ । मेसिन जडान हुँदै छ । अबको केहि समयमै हामी यो सेवा पनि सन्चालन गर्ने छौं ।’– सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराका व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र मल्लले भने ।
अस्पतालले गुणस्तरीय उपचार सेवा दिन सुरु गरेपछि उपचारको लागि क्यान्सर अस्पतालमा आउने बिरामीको संख्या पनि बढ्दै गएको छ । पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न २२ जिल्लाका विरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराका व्यवस्थापन समितिका अध्यक्ष मल्लले ।
क्यान्सर अस्पतालबाट हालसम्म १३ सय बढिले सर्जरी सेवा लिइसकेको जानकारी दिंदै उनले बहिरंग सेवा सुरु गरेको अस्पतालले सिटी स्क्यान, रेडियोलोजी, केमोथेरापी, फार्मेसी, प्याथालोजीलगायतका सेवा समेत दिदै आएको बताए । त्यसैगरी ल्याब, एक्सरे, भिडियो एक्सरे र दुईवटा अत्याधुनिक अप्रेसन थियटरबाट अस्पतालले सर्जरी सेवा पनि दिइरहेको छ ।
‘अब हामीलाई स्थायी दरबन्दी चाहिएको छ । अस्थाई दरबन्दीमा आउने कर्मचारीहरु गाउँतिर बस्न खासै रुचाउदैनन् । केहि समयपछि सरुवा भएर जान्छन् । त्यसकारणले हामीलाई लोकसेवा मार्फत नै स्थायी कर्मचारी भयो भने प्रविधिक कुराले हुने स–साना अड्चन बाहेक हामी उत्कृष्ट सेवा दिनसक्नेमा ढुक्क छौं ।’– अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर निरज भट्टराईले भने ।

…..
अस्पतालको थप सुविधा बिस्तारको लागि पनि काम गरिरहेको अध्यक्ष मल्ल बताँउछन् । ‘हामीलाई सबैभन्दा बढी आवश्यक पर्ने भनेको आईसियु हो । अहिले हामीले आईसियु निमार्ण गरिसकेका छौं । अबको हाम्रो मुख्य र महत्वपुर्ण काम भनेको कुरुवा घर निर्माण, ब्लड बैंक स्थापना हो । यसका साथै विरामी र तिनका कुरुवाहरुले सित्तैमा खानाखान पाउन भन्ने उद्देश्यले खानाको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा गृहकार्य गरिरहेका छौं ।’–उनले थपे ।
अस्पतालमा स्थायी कर्मचारीका लागि दरबन्दीमाग गरेको बताउँदै उनले अबका दिनहरुमा स्थायी कर्मचारीद्वारा नै सहज र प्रभावकारी सेवा प्रदान गरिने दाबी गरे ।
सरकारीस्तरबाट सञ्चालित राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । राजधानीका तीन ठूला अस्पतालपछिको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भएका कारण प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीहरुलाई भरतपुर क्यान्सर अस्पताल लगायत काठमाडौं र भारतको लखनउ जानुपर्ने बाध्यता अन्त्य भएको छ ।