जानकीको २ नम्बर वडामा भिडियो एक्सरे सेवा सुरु
Friday, January 13th, 2023, 7:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, २९ पुष
बाँकेको जानकी गाउँपालिका वडा नम्बर– २ स्थित बेलभार स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि भिडियो एक्सरे सेवा सुरु भएको छ ।
अब जानकीको वडा नम्बर २ का गर्भवती महिलाहरुले आफ्नै गाउँठाउँमा भिडियो एक्सरे गर्न पाउने भएका छन् ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले भिडियो एक्सरे सेवाको शुभारम्भ गर्दे भिडियो एक्सरेका लागि गर्भवती महिलाहरुको नेपालगन्ज जानुपर्ने बाध्यता हटेको बताए ।
साथै गाउँघरमै भिडियो एक्सरे सेवा शुरु हुँदा गर्भवती महिलाहरुलाई सहज भएको भन्दैं गाउँपालिका भर भिडियो एक्सरे सेवा विस्तार गर्ने लक्ष्य अनुरुप काम गरेको अध्यक्ष छब्बन खाँले बताए ।

………
जानकी गाउँपालिका वडा नम्बर– २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले जनताको माग र आवश्यकता अनुसार भिडियो एक्सरे सेवा शुभारम्भ गरिएको बताए ।
स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले गर्भवती महिलाहरुको सहज सेवाका लागि भिडियो एक्सरे सेवा शुरु गरिएको बताएका छन । अघिल्लो स्थानीय सरकारको पालामा वडा नम्बर १ मा र अहिले वडा नम्बर २ मा यो सेवा शुरु भएको उनले जानकारी गराए ।
मातृ मृत्युदर बढिरहेको अवस्थामा स्थानीयहरुको आनीबानी र आर्थिक अवस्थाले नेपालगन्जमा नजाने स्थिति रहँदै आएकोमा अब सबै गर्भवती महिलाले सहजरुपमा सेवा लिएर लाभान्वित हुने रानाले बताएका छन ।
प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत तालिम केन्द्रबाट उपलब्ध ९ लाख मूल्य बराबरको भिडियो एक्सरे जडान गरिएको स्वास्थ्य शाखा प्रमुख रानाले जानकारी गराए ।
कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, सामाजिक विकास समितिका संयोजक रामआँचल धोबी लगायतले मन्त्ब्य राखेका थिए । कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष राजकुमार कुर्मी, कार्यपालिका सदस्य राजेन्द्र सिंह, ४ का वडा सदस्य हवि पठान, गाउँपालिका अध्यक्ष छब्बन खाँका स्वकीय सचिव शोहराव दर्जी, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।