सुरु भयो कोहलपुर नगरपालिकाको १२ औं नगर सभा
Friday, January 13th, 2023, 7:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २९ पुष
कोहलपुर नगरपालिकाको १२ औं नगरसभा शुक्रबारदेखि सुरु भएको छ । नगरसभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अर्को बैठक बस्नु पूर्व सबै सभाषद समक्ष पुग्ने गरी चार वटा प्रस्ताव प्रस्तुत गरेका थिए ।
कोहलपुर नगरपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९, कोहलपुर बांगमय प्रतिष्ठान विद्येयक २०७९, बजेट, योजना तथा कार्यक्रम संशोधन र नगरपालिकाको संगठन संरचनामा हेरफेर लगायतका प्रस्ताव नगरसभाका सभाध्यक्ष एवम नगर प्रमुख आचार्यले प्रस्तुत गरेका थिए ।
नगर प्रमुखले पेश गरेका प्रस्तावहरुको बारेमा आगामी माघ १३ गते बस्ने नगरसभाको अर्को बैठकमा दफावर छलफल हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
प्रस्ताव प्रस्तुत गर्नु अघि सार्वजनिक महत्वको बिषयमा आधादर्जन बढी नगरसभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
सदस्यहरु लालबहादुर राना, गोविन्द वाग्ले, तारादेवी सिंह, कविराम पुलामी, इश्वरी विश्वकर्मा, माधव रिजाल र भीम पौडेलले सार्वजनिक महत्वको बिषयमा आ–आफ्नो धारणा राख्दै नगरपालिकाको समग्र विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
ढल, नाला तथा सडक निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँहरुले त्यसको गुणस्तरीयताको सवालमा अनुगमन संयन्त्रलाई प्रभावकारी गराइनुपर्ने सभामा सुझाव आएको थियो ।
डिजिटल कोहलपुरको अवधारणालाई साकार पार्नेदेखि शिक्षा र स्वास्थ्यमा नमुना पालिका बनाउने सवालमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेकोमा नगरसभाका सभासदहरुको जोड थियो । त्यसक्रममा नगर सभासदहरुले उठाएका केही सवालहरुको बारेमा जवाफ दिँदै नगर प्रमुख आचार्यले नगरपालिकाको नीतिगत सुधारका सवालमा सकारात्मक अभ्यासहरुको थालनी गरिएको जानकारी दिए ।
ठेक्का लिने तर सम्झौता अनुसार काम नगर्ने व्यवसायीहरुलाई खरिद ऐन अन्तर्गत कारवाहीको दायरामा ल्याएको आर्चायले बताए ।
त्यस्तै नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकालाई व्यवस्थित नगरपालिका बनाउने सवालमा सकारात्मक कामहरुको थालनी भइसकेको बताइन ।
नगरपालिकाले नगरभित्र भइरहेका कामहरुको प्रभावकारी अनुगमन र कमजोरी भएका स्थानमा सुधार्ने काम भइरहेको उनले बताएकी थिईन ।