बागेश्वारी उप–शाखा सभापतिमा सापकोटा निर्वाचित
Friday, January 13th, 2023, 8:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा,२९ पुष
नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उप–शाखा खजुरा बाँकेको पाँचौ उपशाखा अधिवेशन तथा १९औं साधारण सभा सम्पन्न भएको छ ।
खजुरा गाउँपालिका कार्यालय नजिकै रहेको नवनिर्मित भवनमा भएको अधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा जीवनाथ सापकोटा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । यसैगरी अधिवेशनबाट कार्यसमितिको अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
अधिवेशनबाट बागेश्वरी उपशाखा खजुराको उप–सभापतिमा सीता शर्मा तिवारी, सचिवमा अर्जुन सिंह थापा, कोषाध्यक्षमा ऋषिकेश जिसी,उप–सचिवमा प्रेम सापकोटा निर्वाचित भएका छन् ।
शुक्रबार भएको अधिवेशनबाट महिला सदस्यमा योगमाया खनाल, सदस्यहरुमा टेकनाथ दाहाल, कृष्ण कुँवर, मोहन बहादुर खड्कार भीम बहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।
यसैगरी शुक्रबार नै नेपाल रेडक्रस सोसाईटी बागेश्वरी उपशाखाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, खजुरा गाउँपालिकाका निर्वतमान अध्यक्ष किस्मत कुमार कक्षपति, नेपाल रेडक्रस सोसाईट बाँके जिल्ला शाखा सभापति गोवद्र्धन सिंह सम्झना लगायतले भवनको उद्घाट गरेका थिए ।
भवन उद्घाटनको अवसरमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने ३५ जनालाई सम्मान पत्रले सम्मान गरिएको थियो । शाखाको भवन निर्माणमा करिब २९ लाख खर्च भएको नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखाका सचिव अर्जुन थापाले बताए ।
क्याप्सनः खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानलाई सम्मानि गरिदैं । तस्विः कालपृष्ठ