जुगनिया माता मन्दिर व्यवस्थापन समिति गठन
Tuesday, January 17th, 2023, 11:08 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ माघ
हरि बहादुर बुढाक्षेत्रीको अध्यक्षतामा जुगनिया माता मन्दिर व्यवस्थापन समिति गठन गरिएको छ । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटमा रहेको मन्दिरको संरक्षण, सम्र्वद्धन र विकास गर्ने उद्देश्यले व्यवस्थापन समिति निर्माण गरिएको हो । स्थानीय टोलवासीहरुको भेलाले जुगनिया माता मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा मुना खत्री, महासचिवमा मुकेश सुनार, कोषाध्यक्षमा प्रविण घिमिरे, सदस्यहरुमा कमल खत्री, वीर बहादुर खत्री र महेन्द्र कुमारी वलीलाई चयन गरेको छ । सुरुआतमा ७ सदस्यीय समिति गठन गरिएपनि आगामी बैठकबाट कार्यसमितिले नयाँ सदस्य थप गर्ने योजना बनाएको महासचिव मुकेश सुनारले बताए ।
नव निर्वाचित व्यवस्थापन समितिले मन्दिर परिसरमा भत्तजनहरुलाई भजन, किर्तन गर्ने हल निर्माण कार्य सुरु गर्ने निर्णय गरेको अध्यक्ष हरि बहादुर बुढाक्षेत्रीले बताए । मन्दिर परिसरमा धार्मिक पर्व, उत्सवको समयमा भेला, पुजा, पाठ र किर्तन गर्ने ठाउँको अभाव भएकोले सुरुआतमा हल निर्माण गर्ने तयारी अगाडी बढाएको उनले बताए ।
खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको जुगनिया माता मन्दिर यस क्षेत्रकै पुरानो मन्दिरमा पर्छ । २०२७ सालमा गौघाट क्षेत्रमा वस्ती वस्न सुरु हुँदा मन्दिरको स्थापना भएको थियो । स्थानीय बासिन्दाको पहलमा मन्दिरको स्तर उन्नती हुँदै आएपनि व्यवस्थित रुपमा मन्दिरको संरक्षण र विकास हुन सकेको थियो ।
स्थानीय हिन्दुहरु धर्मालम्बीहरुको धार्मिक आस्थाको केन्द्र रहेको जुगनिया माताको मन्दिरको प्रचार प्रसार र संरक्षणमा नयाँ कार्यसमितिले सक्रिय भएर काम गर्ने अध्यक्ष बुढाक्षेत्रीले बताए । मन्दिर परिसरमा करिब १ लाख ५० हजार रुपैयाँ खर्च गरेर खुला हल निर्माण कार्यमा सहयोगका लागि उनले अपिल गरेका छन् । हल निर्माण कार्यको सुरुआत गर्न अध्यक्ष हरि बहादुर बुढा क्षेत्रीले करिब ५० हजार रुपैयाँ बराबरको इटा, बालुवा, मोरङ र सिमेन्ट सहयोग गरिसकेका छन् । बाँकी रकम चन्दामार्फत सहयोग जुटाएर हल निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको उनले बताए ।