नरैनापुरमा पुनःस्थापना हुन लागेको इलाका प्रशासनको निरिक्षण
Tuesday, January 17th, 2023, 7:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नरैनापुर,३ माघ
सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्ण केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री लगायत सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले सोमबार निरिक्षण गरेको छ ।
लुम्बिनी प्रदेशका मन्त्री नमूनाले दुर्गममा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक भएकोले भाडामा लिएको भवनको मर्मात सम्पन्न भए पछि कार्यालय स्थापना हुने बताउदै स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज आउनुपर्ने बाध्यताको अन्त्य हुने बताए ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भन्नुभयो, इलाका प्रशासन कार्यालय नरैनापुर ४ मा संचालनका लागि ५ कोठे भवन भाडामा लिने भए पछि प्रमुख जिल्ला अधिकारी, बाँकेका प्रहरी उपरिक्षक सन्तोष सिंह राठोर लगायतको टोलीलाई बोलाएर भवनको निरिक्षण गराएको बताए । उनले भने, ‘संघीयताको मर्म र भावनाअनुरूप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति भए पनि गाउँपालिकामा रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको छ ।’
बाँकेका प्रमुख जिल्ला अकिकारी सूर्यबहादुर खत्रीले नरैनापुरमा प्रशासन कार्यालय राख्नका लागि उपयुक्त भवन गाँउपालिकाले व्यवस्था गरेकोले माघ महिना भित्रै संचालनमा आउने जानकारी गराए ।
भवनको रंग रोगन गर्न घर धनीलाई निर्देशन दिएको बताउदै भवनको काम सम्पन्न भए लगत्तै कर्मचारीहरु सम्बन्धित ठाउँबाट नै सेवा प्रवाह गरिने उनले बताए ।
केही दिन अघि नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन पुनःस्थापना माग गर्ने निर्णय गरेको थियो उक्त निर्णयलाई प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई अध्यक्ष शाहले बुझाएका थिए ।
इलाका प्रशासन कार्यालय नरैनापुर अहिले नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको छ । नागरिकता, प्रशासनिकलगायत सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज आउने गर्छन् ।
मन्त्री नमूना, अध्यक्ष शाह, प्रमुख जिल्ला अधिकारी सूर्य खत्री, प्रहरी उपरिक्षक राठौर, सशस्त्र प्रहरी उपरिक्षक, अनुसन्धान विभिगका बाँके प्रमुख, नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह लगायतको टोलीले इलाका प्रशासनको भवनको निरिक्षण गरेको थियो ।