कपाल काटेरै बर्षको २० क्विन्टल धान
Wednesday, January 18th, 2023, 6:09 am
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, ३ माघ
पछिल्लो समय यस्तो चलन हराउदै गएको छ । हामीले पनि गाउँ र जंगलका चौकिदार, गुरुवा र ढकेरुवालाई मात्र बर्षमा २२ क्विन्टलका दरले तिहाई दिने गरेका छौं । २२ क्विन्टल गाँउलेलाई भाग लगाउदा उनीहरुको जग्गाकै अनुपातमा भाग लाग्छ । जसको जति जग्गा छ । यसले त्यहि अनुपातमा धान ल्यायर बुझाउछ ।
मैनापोखरका ७८ बर्षिय ईन्सान अलि नाउ सम्झीने भएदेखि नै कपाल काट्दै आर्इंरहेका छन् । मैनापोखरमा कपाल काट्ने पहिलो आफ्नो परिवार नै भएको उनको दाबी छ । उनका ४ पुस्ताले यहाँ कपाल काट्दै आएको छ । हजुरबुवा, बुवा, ईन्सान र उनका छोरा समेतले एउटै पेशा अँगालेका छन् ।

…..
ज्यालामजदुरी भन्दा उनलाई कपाल काट्न सजिलो लाग्छ । ‘मजदुरी गर्नु परेको भए म कसरी सक्थें र । धन्न पुर्खाले कपालकाट्ने पेशा अँगाले र अहिले मैले पनि यहि गरिरहेको छु । ८० पुग्न लाग्दापनि मजाले काम गर्न सकेको छु । अहिले त छोराहरुले पनि यहि पेशा अपनाएका छन् ।’– उनले भने । ‘पुरानो समयमा अहिले जस्ता कपाल काट्ने शैलुनहरू थिएनन् । घरघरमा गएर कपाल काट्ने गरिन्थ्यो । कपाल काट्दा पैसा तिर्ने चलन त्यतिबेला थिएन । कपाल काटेबापत ६ महिना तथा वर्ष दिनमा अन्न ल्याउने गरेका थिए । त्यो चलन अहिलेपनि चलिराखेकै छ । तर, अहिले बर्षदिनमा मात्रै दिन्छन् ।’
उनका १ भाइ छन् । उनि पनि यहि पेशा गर्दै आईरहेका छन् । मैना पोखरका हरेक परिवारले एक व्यक्ति वापत ४ नम्बर धान दिने गरेका छन् । १ नम्बर धानको ५ किलो हुन्छ । १०० घरभन्दा बढी साहुको घरमा गएर कपाल काट्ने गरेको उनले बताए । सबै गरेर १८–२० क्विन्टल धान उनिकहाँ वार्षिक रुपमा आईपुग्छ ।
बर्षभरि कपाल काटेर आउने उक्त धान मध्ये ३–४ क्विन्टल धान बेचेर घर व्यवहार चलाउने गरेको ईन्सान अलि नाउकी श्रीमती खैरुल निशा बताउछिन् । नाउँका परिवारले गाउँघरबाट अन्नबाली उठाउने गरेका छन् । बुवा–बाजेदेखि गर्दै आएको पेशा अहिले उनि र उनको छोराहरुले गर्दै आएका छन् ।
पछिल्लो समय यसरी तिहाई उठाउने संस्कार हराउदै गएको बढैयाताल गाउँपालिका बडघर सञ्जालका संयोजक तथा अगुवा परशुराम चौधरी बताउछन् । पछिल्लो समय मिस्त्री राख्ने र नौवा राख्ने जस्ता पुराना समाजिक संरचनाहरु खारेज हुंदै गएको बताउदै चौधरीले आजभोलि गाउँ र जंगलका चौकिदार, गुरुवा र ढकेरुवालाई मात्र बर्षमा २२ क्विन्टलका दरले तिहाई दिने गरेको उनले बताए ।
‘पछिल्लो समय यस्तो चलन हराउदै गएको छ । हामीले पनि गाउँ र जंगलका चौकिदार, गुरुवा र ढकेरुवालाई मात्र बर्षमा २२ क्विन्टलका दरले तिहाई दिने गरेका छौं । २२ क्विन्टल गाँउलेलाई भाग लगाउदा उनीहरुको जग्गाकै अनुपातमा भाग लाग्छ । जसको जति जग्गा छ । यसले त्यहि अनुपातमा धान ल्यायर बुझाउछ ।’– उनले भने ।
आवश्यकता बाहेकका कुरामा तिहाई उठाउने चलन हटेकै राम्रो भन्ने तर्क उनको छ ।