कर्णाली प्रदेश भोकमरीको उच्च जोखिममा
Sunday, January 29th, 2023, 8:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ माघ
नेपालमा सबैभन्दा बढी जोखिम कर्णाली प्रदेशमा देखिएको छ । कम जोखिम गण्डकी प्रदेशमा छ । कम भोकमरीदर रहेको प्रदेशमा क्रमशः बागमती र प्रदेश नम्बर एक हुन् । यी प्रदेशमा भोकमरीदर २२.९ र २४.९ छ । मधेश प्रदेशमा भोकमरी दर ३४.२ छ भने लुम्बिनी प्रदेशको ३५.५ छ । यस्तै सुदुरपश्चिम प्रदेशको भोकमरीदर ४०.९ छ ।
नेपालको कर्णालीसँगै सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका एक तिहाइ भन्दा धेरै बालबालिका भोकमरीका कारण पिडित देखिएको छ । यी क्षेत्रमा बहुआयामिक गरिबीका दर उच्च रहेका कारण बालबालिकामा कुपोषण दर पनि उच्च भएको प्रतिवेदनमा उल्लेख छ । कठिन भौगोलिक अवस्था, कमजोर विकास पूर्वाधार, सञ्चार सुबिधा, जनचेतनाको कमी जस्ता कारणबाट पौष्टिक खाद्यन्नको आवश्यकता पूर्ति गर्न कठिन भएको पनि प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । विश्व भोकमरी सूचकाङ्क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार नेपालको अवस्था सन् २००० मा जोखिमपूर्ण थियो । सन् २००७ र सन् २०१४ मा नेपालको अवस्था गम्भीर तर, जोखिमपूर्ण अवस्थाबाट सुधारमा आएको देखिएको थियो । सन् २०२२ को तथ्यांकमा भने नेपालले मध्यम जोखिमको अवस्थामा सुधार गरेको छ । नयाँ सूचकाङ्कमा १२१ मुलुकको भोकमरीको अवस्था सार्वजनिक गरिएको छ । जहाँ नेपालले १९.१ अंकका साथ ८१औं स्थानमा छ । सन् २०१४ यता नेपालले भोकमरी अवस्थामा २ अंकको सुधार गरेको छ ।