‘पशुपन्छिलाई पनि बाँच्न सहज वातावरण चाहिन्छ’
Sunday, January 29th, 2023, 8:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ माघ
पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले गधा, घोडा र खच्चडलाई अन्य पशुपन्छीकै समूहमा सूचिकृत गरिनु पर्ने एनिमल नेपालका वरिष्ठ पशुु चिकित्सक आतिश कुमार यादवले बताएका छन् । आईतबार नेपालगन्जमा आयोजित पशुपन्छी कल्याण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले गधा, घोडा र खच्चडले सिंगो मानवजाती र समूदायलाई पुर्याएको योगदानको कदर गर्नुपर्ने भन्दै नेपाल सरकारले उनिहरुलाई पशुपन्छीकै समूहमा सूचिकृत गरिनु पर्ने बताएका हुन् ।
उनले भने,‘नेपाल सरकारले केवल गाई, भैसी, कुखुरा, बाख्रा, लगाएत अन्त सबै पशुपन्छीलाई एउटै समूहमा समेटेर सूचिकृत गरेको छ तर गधा, घोडा र खच्चडलाई भने अहिलेसम्म पशुपन्छीको समूहमा सूचिकृत गरेको छैन । यातायात अन्र्तगत राखेको छ ।’
उनले प्रष्ट्याउँदै भने,‘गाईले दुध दिन्छ, कुखुराले अण्डा दिन्छ र मासुको उपयोग गर्न पनि सकिन्छ त्यसैगरी खसी बोकाले पनि मासुु दिने काम गर्छ त्यसैले यी र यस्ता पशुपन्छीलाई नेपाल सरकारले एउटै समूहमा सूचिकृत गरेको छ । तर यिनीहरुको जस्तै र कुनैपनि मानेमा कम नभएको योगदान छ गधा, घोडा र खच्चडको पनि । यिनीहरुलाई पनि भारीको भारी बोकाएर मानिसले आफ्नो उपयोग गरिरहेका छन् ।’
वरिष्ठ पशु चिकित्सक डा. अतिश कुमारका अनुसार नेपालगञ्जमा १ सय ७७ घर परिवारले गधा, घोडा र खच्चड पालेका छन् । उनीहरुको दैनिक रोजी रोटीको कमाई नै तिनै गधा, घोडा र खच्चडबाट हुँदै आएको छ ।
उनले गधा, घोडा र खच्चड पनि पशु भएको हुनाले यिनीहरुलाई पनि अन्य पशुलाई जस्तै रेबिज र टिटनाशक सुई लगाउन आवश्यक रहेको बताए । नेपाल सरकारले अहिले सम्म गधा, घोडा र खच्चडलाई भारी बोक्ने जनावरको रुपमा सुचिकृत गर्दै उनीहरुको जिम्मेवारी यातायात मन्त्रालय अन्तर्गत राखेको बताउँदै यो सरासर उनीहरुमाथि अन्याय भएको उनको भनाई थियो ।
पशुपन्छीलाई पनि मानिसलाई जस्तै बिदा चाहिन्छ, उनीहरुको पनि स्वतन्त्र भएर बाँच्न पाउने अधिकार सुनिश्चित हुनु पर्छ भन्ने कुराको पैरवी गर्दै पशुपन्छीको हक र अधिकारका लागि २००९ सालदेखि एनीमल नेपालले काम गर्दै आई रहेको छ ।