साना व्यावसायी माथी नेपालगन्ज उप–महानगरको लगानी
Sunday, February 19th, 2023, 7:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्जन, ७ फागुन
नेपालगन्ज उप–महानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उप–महानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो ।
नेपालगन्ज उप–महानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर आईतवार वडा नम्बर चार, सात, आठ, नौ, ११ र २० का ४८ जनालाई न्यूनतम् २५ हजार रुपैयाँदेखि अधिकतम् २ लाख रुपैयाँ प्रदान गरिएको छ । साझेदारी विकास कार्यदलका संयोजक एवम् नेपालगन्ज–२० का वडा अध्यक्ष कौशलकुमार धोबीले आज चेक हस्तान्तरण गरेका हुन् ।
‘सानो स्केलमा व्यापार व्यवसाय गरिरहेका विपन्न समुदायका व्यक्तिहरुलाई आर्थिक सहजताका लागि लगानी गर्ने उद्देश्य अनुसार चेक रकम हस्तान्तरण गरेका हौं’–वडा अध्यक्ष धोवीले भने– ‘खासगरी लक्षित समुदाय अन्तर्गत मधेशी, मुस्लिम, पिछडिएको वर्ग, अल्पसंख्यकहरुको पहिचान गरेर आवश्यकताका आधारमा लगानी गरेका हौं ।’ नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक लगानी गरेपछि व्यवसायीहरु खुसी र उत्साहित भएको धोवीले बताए ।