नेपालगन्ज उप–महानगरपालिकाले सरसफाई अभियान थाल्यो
Sunday, February 19th, 2023, 7:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ फागुन
नेपालगन्ज उप–महानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो । त्यसक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सफा, स्वच्छ र सुन्दर सहर बनाउन सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । उहाँले सरसफाई अभियानलाई निरन्तररुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
नगर प्रमुख विष्टले प्रजातन्त्र दिवसको अवसर पारेर सांकेतिकरुपमा सरसफाई अभियान थालिएको बताए । नगरलाई सफा र स्वच्छ राख्न सरसफाई कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने विष्टको भनाई छ । उनले विदेशी पर्यटकहरु भित्रिने नाका भएका कारण जमुनाहा क्षेत्रबाट सरसफाई अभियानको सुरुवात गरिएको बताए । ‘उप–महानगरपालिकाको एक्लो प्रयासले मात्र सरसफाई सम्भव हुँदैन, सबै सरोकारवाला र नागरिकको हातेमालो र सहभागिताले मात्र सहरलाई सुन्दर राख्न सकिन्छ,’ नगर प्रमुख विष्टले भने– ‘क्लिन नेपाल–ग्रिन नेपालगन्जलगायत विभिन्न संघसंस्था र निकायको सहयोगमा हामी सरसफाई अभियानलाई निरन्तरता दिन्छौं ।’
नगर उपप्रमुख राईले नेपालगन्जलाई सफा र स्वच्छ राख्ने दायित्व सबैको भएको भन्दै नागरिकहरुमा व्यवहार परिवर्तन पनि आवश्यक रहेको बताए । क्लिन नेपालगन्ज–ग्रिन नेपालगन्जका अभियन्ता डा.कर्णले आफूहरुले साप्ताहिक रुपमा अघि बढाएको सरसफाई अभियानले नागरिकमा सचेतना र जागरण ल्याएको स्मरण गराउँदै उक्त अभियानलाई प्रतिकूल अवस्थाका कारण निरन्तरता दिन नसकेपनि अब नेपालगन्ज उप–महानगरपालिकासँग सधैं हातेमालो र सहकार्य गर्न तत्पर रहने बताए ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी प्रमुख रमेश शाही, सरसफाई अभियन्ता डा. विनोद कर्ण, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, सरसफाईकर्मी लगायत उपस्थित थिए ।