खजुरामा निःशुल्क उपचारात्मक योग शिविर सम्पन्न
Sunday, February 19th, 2023, 8:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ७ फागुन
खजुरा गाउँपालिकाको वडा नम्बर ४ निःशुल्क उपचारात्मक योग शिविर कार्यक्रम आईतबार सम्पन्न भएको छ । खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको (आयुर्वेद स्वास्थ्य) आयोजना र खजुरा गाउँपालिका वडा नम्बर ४ कार्यालयको सहयोगमा उक्त शिविर कार्यक्रमको आयोजना गरिएको थियो ।
फागुन १ देखि ७ गते सम्म चलेको शिविरमा वडाका करिब ९० जना भन्दा बढी स्थानीय जनताको सहभागिता रहेको थियो । हप्तादिन सम्म हरेक बिहान ५ः३० देखि ७ः३० सम्म चलेको शिविरमा योग मार्फत नागरिकलाई जीवनस्तरलाई सुधार गर्ने बारेमा प्रशिक्षण दिइएको थियो ।
शिविरका दौरान सहभागिहरुलाई अमृत चियाको सेवन पनि गराईको थियो । रोगप्रतिरक्षात्मक क्षमताको वृद्धि गर्ने भएकोले अमृत थियाको सेवन गराईको आयोजकले बताएको छ ।
‘योग गरौ, स्वास्थ रहऔं’ भन्ने नाराका साथ गरिएको शिविर खजुरा गाउँपालिका वडा नम्बर ४ स्थित मिलिजुली सहकारी संस्थाको भवनमा आयोजना गरिएको थियो । शिविरका क्रममा ६७ जनाको निःशुल्क रुपमा सुगरको परिक्षण गरिएको खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले बताए ।
गत फागुन १ गते खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले शिविरको उद्घाटन गरेका थिए भने आइतबार वडा सदस्य शेर बहादुर विसीले शिविरको समापन गरेका थिए ।
एक हप्तासम्म शिविरमा सहभागि भएका वडावासीलाई कोहलपुर आयुर्वेद औषधालय कविराज निरिक्षक गौरीशंकर मण्डल, सहायक योग प्रशिक्षक तारानाथ योगी, खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले प्रशिक्षण दिएका थिए । शिविरमा सुगर प्रशिक्षणमा खजुरा प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन दिपक बहादुर माझीले सहयोग गरेका थिए ।
खजुरा गाउँपालिकामा सक्रिय रुपमा आयुर्वेद कार्यक्रम संचालन गरिरहेको नागरिक आरोग्य सेवा केन्द्रको (आयुर्वेद स्वास्थ्य) शाखाले वडा नम्बर ४ कै सहयोगमा जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम पनि गर्ने तयारी गरेको खनालले कालपृष्ठ दैनिकलाई बताए । एक हप्ता पछि जेष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरेर उक्त कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।