परिवर्तनको निमित्त युवाले महत्वपूर्ण भूमिका खेल्छन्ः मन्त्री केसी
Sunday, February 19th, 2023, 9:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ फागुन
लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना)ले तिनै तहका सरकारबिचको समन्वयले र सहकार्यले संघीयतालाई बलियो बनाउने बताएकी छिन् ।
आइतबार नेपालगन्ज रंगशालामा २८औं जनयुद्ध दिवसको अवसरमा भएको फुटबल प्रतियोगिताका दौरान मन्त्री केसीले तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताईन ।
स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्यले संघीयतालाई बलियो बनाउने भएकोले एक अर्काबिच सहकार्य हुन जरुरी रहेकोमा मन्त्री केसीले जोड दिईन् । उनले भनिन, ‘हामीकहाँ भएका तीनै तहका सरकारबीच समन्वय र सहकार्य अहिलेको प्रमुख आवश्यकता हो । तीनै तहबीच समन्वय र सहकार्य भएर काम भए संघीयता कार्यान्वयनमा सहज हुन्छ ।’
जनयुद्वकै जगमा अहिलेको व्यवस्था आएको बताउँदै नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य समेत रहेकी मन्त्री केसीले अहिलेको परिवर्तन जनयुद्धका कारण सम्भव भएको बताईन । उनले भनिन, ‘जनयुद्वकै जगमा अहिलेको संघीय गणतन्त्र नेपाल भएको हो । दुःख गरेर ल्याएको व्यवस्थालाई बलियो बनाउन सम्पुर्ण युवाहरुको महत्वपूर्ण भूमिका हुन्छ ।’
देश विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री केसीले सोहीअनुसार भूमिका समेत निभाउनुपर्नेमा बताईन् । उनले अगाडी भनिन, ‘युवाको तातो जोश र जाँगरलाई विवेकमा बदलेर साँच्चिकै समाजको नेतृत्व गर्न सक्नुपर्छ । युवा साथीहरुले विवेकको रुपान्तरण गर्दै युवाले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’
देश परिवर्तनका लागि युवाहरुले भूमिका महत्वपुर्ण रहेको बताउँदैं देशको परिवर्तनको निमित्त युवाहरुले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने विश्वास समाजलाई दिलाउनु उनले बताईन् ।