‘रिल देखि गो–प्रो’ पुस्ताको अनुभव सुनाउने तयारी
Tuesday, March 14th, 2023, 9:51 pm
Kalpristha
नेपालगन्जमा चैतको २१ देखि २३ गतेको अवधिमा हुने यी दुई इभेन्ट्सको एउटा लक्ष्य छ, रिल देखि गोप्रो र ड्रोन उडाउने पुस्ताको अनुभव एउटै मन्चमा आदान प्रदान गर्नु ।
दुर्गा पौडेल
नेपालगन्ज, ३० फागुन
मोफसलमा कार्यरत पत्रकारहरुले फोटो पत्रकारितामा धेरै चासो नदिएको देखिन्छ । पत्रकारिताको अभिन्न अंगका रुपमा रुपमा रहेको फोटो पत्रकारितामा पत्रकारहरुको अभिरुची नहुनु एउटा समस्याको रुपमा देखिएको छ । जसले आधुनिक पत्रकारिताको अभ्यासलाई कमजोर बनाइरहेको छ । मोफसलको पत्रकारिताको आधारलाई बलियो बनाउने हो भने पत्रकारिता गरिरहेका पत्रकारहरुले फोटो पत्रकारितामा अभिरुची बढाउनु पर्ने बताउँछन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई ।
चौलागाईले व्यक्त गरेका समस्यालाई सम्बोधन गर्ने उद्देश्य सहित नेपालगन्जमा दुइ वटा महत्वपुर्ण इभेन्ट्स हुँदैछ, त्यो हो तेस्रो नेपालगन्ज फोटो फेस्टिवल र नेपाल फोटोग्राफी समिट । जसले नेपाली फोटो पत्रकारिताको सुरुआती पुस्ता देखि अहिलेको नयाँ पुस्तासम्मको अनुभवलाई एउटै थलोमा पस्कने प्रयास गर्दैछ । नेपालगन्जमा चैतको २१ देखि २३ गतेको अवधिमा हुने यी दुई इभेन्ट्सको एउटा लक्ष्य छ, रिल देखि गोप्रो र ड्रोन उडाउने पुस्ताको अनुभव एउटै मन्चमा आदान प्रदान गर्नु ।
फोटो पत्रकारिता गरिरहेकाहरुलाई प्रोत्साहन गर्न फोटो फेस्टिवल र फोटो पत्रकारिताको महत्वलाई उजागर गर्ने उद्देश्यले दुइ महत्वपुर्ण इभेन्ट्स गर्न लागेको बताउँछन् आयोजक अन्तरालका कार्यकारी निर्देशक जय नारायण शाह । शाह भन्छन, ‘फोटो पत्रकारिता मार्फत हाम्रो वास्तविक अवस्थालाई आम मानिससँग ल्याउने प्रयास गछौं । बाँकेमा सिक्टा सिचाईको बाध विस्तार हुँदैछ तर कृषियोग्य जमिन सकिदैछ । त्यसैले कृषि पेशालाई बलियो बनाउन यसपटक कृषि विधा थपेको छौं ।’

………..
नेपालमै पहिलो पटक गर्न लागिएको नेपाल फोटोग्राफी सुमिट आगामी चैत २२ र २३ गते नेपालगन्जमा आयोजना हुँदैछ । तेस्रो नेपालगन्ज फोटो फेस्टिवल चैत २१ र २२ गते गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने समिटमा देशभरबाट १ सय ११ फोटो पत्रकारहरु र फोटोग्राफीमा स्वतन्त्र ढंगले सक्रियहरु सहभागी हुनेछन् ।
‘फोटोग्राफीमा संलग्न अघिल्लो पुस्ता र नयाँ पुस्तालाई जोड्ने सेतु हो नेपालगन्ज फोटोग्राफी समिट, यसले रिल देखि ड्रोन पुस्तालाई जोड्ने प्रयास गर्नेछ’– समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, ‘रिलवाला क्यामेरा चलाएको पुस्तादेखि अहिलेको डिजिटल प्रविधि, गोप्रो हुँदैं ड्रोन चलाइरहेका पुस्ता एकै थलोमा भेला गदैछौं ।’

…………..
आयोजकका अनुसार नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गतको फोटो प्रतिस्पर्धामा देशभरबाट फोटो आव्हान गरिएको छ । सोमबार राती १२ बजे सम्म ९ वटा विधामा फोटोहरु आएका छन् । हरेक विधाका उत्कृष्टलाई पुरस्कृत गरिनेछ भने सवोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिनेछ । यसअघि विधाका विजेता र वर्ष फोटो विजेताले २५ हजार रुपैयाँ पाएका थिए । यसपटक पुरस्कार राशीमा बृद्धि गर्ने आयोजकले बताएको छ ।
समाचार, दैनिक जीवन, पर्यटन, वाईल्डलाईफ, कृषि, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, नेपाल स्माइल गरी ९ विधा रहेका छन् । यी सबैं विधाबाट छानिएका १ सय ५१ फोटो प्रदर्शनीमा राखिनेछ । फोटोहरु छनोट गर्न वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा ३ सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । सदस्यहरुमा फोटो पत्रकार क्लब क्लब(पिजे क्लब) का अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल रहेका छन् । मण्डलले छनोट कार्य मंगलवार देखि नै शुरु गरेको छ ।
यसैगरी नेपालगन्ज फोटो फेस्टिवलका दौरान बाँके जिल्लाको विशेष फोटो प्रदर्शनी हुने भएको छ । बाँकेको नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, ६ वटा गाउँपालिका(राप्तीसोनारी, नरैनापुर, डुडुवा, बैजनाथ, खजुरा, जानकीका पर्यटकीय स्थल, कला संस्कृति, स्थानीय मौलिक परिकार, भेषभुषा र जीवनशैली झल्कने फोटोहरु उक्त प्रदर्शनीमा राखिनेछ ।
यस प्रदर्शनीका लागि नेपालगन्ज फोटो फेस्टिवलले नेपालगन्ज ग्यालेरीसँग सहकार्य गरेको छ । ‘आजैदेखि ग्यालेरीले फोटो आवहान गर्नेछ, ‘ग्यालेरीका संस्थापक समिरमान श्रेष्ठले भने,‘यस प्रदर्शनीले बाँके जिल्लाको सबै क्षेत्रको व्यापक प्रवद्र्धन गर्नेछ ।’

…………..
‘गौरबको कुरा हो’
नेपालगन्ज क्षेत्रमा रहेर फोटो पत्रकारिता र फोटोग्राफीमा सक्रिय भएर काम गरिरहेकाहरुले नेपालगन्ज फोटो फेस्टिवलले यस क्षेत्रको समग्र विकासमा महत्वपुर्ण योगदान पु¥याउने विचार व्यक्त गरेका छन् । यसैगरी नेपालमै पहिलो पटक गर्न लागिएको नेपाल फोटोग्राफी समिट नेपालगन्जमा हुने यस क्षेत्रकै लागि गौरवको विषय भएको बताएका छन् । अन्तरालले मंगलबार नेपालगन्जमा आयोजना गरेको छलफलका सहभागिहरुले यस्तो विचार व्यक्त गरेका हुन् ।
नेपालगन्ज उप–महानगरपालिकाकी निर्वतमान उपमेयर उमा थापा मगरले देशभरबाट फोटो पत्रकार नेपालगन्ज आउँदा यस क्षेत्रको पर्यटन तथा समग्र विकासमा सकारात्मक प्रभाव पार्ने बताईन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले नेपाल फोटोग्राफी समिट र नेपालगन्ज फोटो फेस्टिवलले नेपाली फोटो पत्रकारिता क्षेत्रको विकासमा ठुलो योगदान दिने बताए । समिट र फेस्टिवल सफल पार्न बाँकेवासीले सहकार्य र सहयोग गर्नु पर्ने उनले बताएका छन् ।