वडा स्तरबाटै राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु पछि नरैनापुरका नागरिक उत्साहित
Wednesday, March 15th, 2023, 8:25 pm
Kalpristha
कालपृष्ठ समाचारदात
नरैनापुर, १ चैत
बाँकेको नरैनापुर गाँउपालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने अभियान सुरु भए पछि स्थानीय नागरिकहरुलाई सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अभियान अन्तर्गत पहिलो चरणमा नरैनापुर गाउँपालिकाको वडा नं. १, २, ३ र ५ मा वडास्तरीय घुम्ती शिविर आयोजना गरी विवरण लिने काम सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत मणीराम खरालले बताए ।
राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी पहिलो चरणमा चारवटा वडाबाट अभियान सुरु गरिएको बताउदै नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरालले प्रत्येक वडामा दुईवटा स्टेसन रहनेगरी ८ वटा स्टेसन मार्फत विवरण संकलन गर्ने कार्य जारी रहेको जानकारी दिए ।
गाँउपालिका भित्र सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण संकलन केन्द्रहरुको अनुगमन गर्दै नरैनापुरका अध्यक्ष इश्तिायक अहमद शाहले अबको युग प्रविधिमैत्री भएकाले सबैले परिचयपत्र प्राप्त गर्नुपर्ने बताए । यूवा भन्दा बृद्धाहरु राष्ट्रिय परिचयपत्र बनाउनका लागि लाईनमा बसेको देखे पछि अध्यक्ष शाहले नरैनापुरबासीको सहजताका लागि वडा परिसरमा थप स्टेशन बनाएर परिचपत्रको कामलाई बढाउन तयार रहेको उल्लेख गरे । राष्ट्रिय परिचय पत्र नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश गरी बायोमेटिक सुविधायुक्त प्रमाणपत्र भएको बताउदै अध्यक्ष शाहले विवरण दर्ता गराउन नरैनापुरबासी संग अपिल गरे ।
नरैनापुर ५ का वडा सचिव भरत महतोले सबै नेपाली नागरिकहरूको वैयक्तिक तथा जैविक विवरणलाई केन्द्रीकृत रूपमा भण्डारणसहित सबै परिचय खुल्ने र नदोहोरिने गरी बहुपयोगी राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गर्ने सङ्घीय सरकारको उद्देश्य अनुरूप विवरण सङ्कलन भइरहेको बताए । उनले दैनिक ८० देखि १०० जनाको विवरण संकलन भईरहेको बताउदै विवरण दर्ता गराउनेहरुको संख्या बढ्दै गएको जानकारी दिए ।
नरैनापुर २ का सचिव एंव पालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले सरकारले पछिल्लो समय सबै नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाले अभियानका क्रममा नरैनापुरको वडा टोलमै शिविर आयोजना गरीएकोले सम्पूर्ण नरैनापुरबासीलाई सम्बन्धित वडामा गएर आफनो विवरण दर्ता गराउन आग्रह गरे ।
नरैनापुर ५ कि ६२ वर्षिय महेशा यादवले वडा स्तरबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु भए पछि म जस्तो बृद्धाका लागि धेरै सहज भएको बताउदै आफनो वडामा रहेका बृद्धाहरुलाई नेपालगन्ज गएर राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन धेरै महगो र दुखदायी रहेको थियो तर वडाबाटै उक्त सेवा लिन पाए पछि खुशी लागेको बताइन् ।
स्मरण रहोस नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि गाँउपालिकाले पटक पटक प्रयास गरे पनि जिल्ला प्रशासन कार्यालय बाँकेले हाल सम्म स्थापना गर्न सकेको छैन् । नरैनापुर गाँउपालिकामा सुरु भएको अभियान १ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको विवरण संकलन गरी रहेका राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका प्राविधिक राम बहादुर ओलीले बताए ।
विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेस गर्न सकिने विभागले जनाएको छ । जिल्ला प्रशासनमा विवरण संकलन गर्दा तत्कालै परिचयपत्र नम्बर उपलब्ध हुने भए पनि अभियानका क्रममा भने विवरण प्रविष्ट गरेको कम्तीमा १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने भएको छ ।