तस्करीको बिरोध गर्दै सडकमा उत्रिए कुखुरा व्यवसायी
Friday, March 17th, 2023, 5:00 am
Kalpristha
हरेक दिन भारतबाट अवैध रुपमा विभिन्न नाकाहुँदै नेपालमा बोइलर कुखुराहरु भित्रने गरेका छन् । यसरी भारतबाट आउने कुखुरासँग नेपाली व्यवसायीहरुले प्रतिस्पर्धा गर्न सक्दैनन् । जसका कारण नेपाली कुखुरा व्यवसायीहरु आर्थिक रुपमा घाटामा जाने गरेका छन् ।
कमल खत्री
नेपालगन्ज, २ चैत
आफनो व्यवसाय धरापमा परेको भन्दैं नेपालगन्जका कुखुरा व्यवसायी सडकमा उत्रिएका छन् । बिहिबार बिहान कुखुरा व्यवसायीले गणेशमान चौकमा केहि बेर सडक अवरुद्ध गरेर बिरोध गरेका थिए । कुखुरा व्यवसायीहरु अवैध तस्करीका बिरुद्ध सडकमा उत्रिएका हुन् । बिरोधका क्रममा व्यवसायीले आफना फर्ममा बिक्री नभएका कुखुराहरु सडकमै फालेर नाराबाजी गरेका थिए । त्यसक्रममा उनीहरुले प्रहरी प्रशासन मुर्दावाद भन्दै नारावाजी गरेका थिए । प्रहरीले सेटिङमा भारतबाट अवैध नाका हुँदै आउने कुखुराहरु नरोकेको भन्दै व्यवसायीहरु बिरोध उत्रिएका हुन् । प्रहरी प्रशासन र सरकारी निकायको गैरजिम्मेवारीका कारण बाँकेमा पछिल्लो क्रममा कुखुरा व्यवसायीको संख्या घट्दो क्रममा छ ।
अहिले नेपाली कुखुरा व्यवसायीको संकटमा छन् । उनीहरुको लगानी समेत उठन नसक्ने अवस्था पुगेको सृजना भएको छ । हरेक दिन भारतबाट अवैध रुपमा विभिन्न नाकाहुँदै नेपालमा बोइलर कुखुराहरु भित्रने गरेका छन् । यसरी भारतबाट आउने कुखुरासँग नेपाली व्यवसायीहरुले प्रतिस्पर्धा गर्न सक्दैनन् । जसका कारण नेपाली कुखुरा व्यवसायीहरु आर्थिक रुपमा घाटामा जाने गरेका छन् । यसले कुखुरा व्यवसाय गर्ने व्यवसायीको संख्या समेत घटने गरेको छ ।
नेपाल–भारत नाकाको सिमावर्ती क्षेत्रमा १० किलोमिटरको दुरीमा शसस्त्र प्रहरीको बिओपी चेकिङ पोस्ट छ । त्यस्तै जनपथ प्रहरीको स–साना अस्थायी र इलाका प्रहरी कार्यालय छन् । जिल्ला प्रहरीले चोरी र अवैध कार्य नियन्त्रण गर्न घुमुवाको पनि परिचालन गरेको हुन्छ । तर तिनै घुमुवा र प्रहरी प्रशासनको जिम्मेवार निकायको नेतृत्व गर्ने व्यक्तिको इसारामा अवैध ओसार प्रसार रोक्नु भन्दा पनि उल्टै उनीहरुसँग मासिक रकम लिएर छोडने गरेको आरोप लाग्ने गरेको छ । जसका कारण बाँकेमा कुखुरासँगै अन्य थुप्रै व्यवसायीहरु मारमा पर्ने गरेका छन् ।
बाँकेमा प्रहरी र प्रशासनका विरुद्धमा यसरी व्यवसायी सडकमा उत्रिएको यो पहिलो पटक भने होइन । पटक–पटक यस्ता बिरोधका आवाज उठने गरेका छन् बाँकेमा । तर यसलाई नियन्त्रण गर्ने राज्यको निकाय भने मौन बस्ने गरेका छन् ।
युवाहरुलाई व्यवसाय गरेर खान समेत कठिन भएको बताउँछन कुखुरा व्यवसायी नेपालगन्ज जयसपुर निवासी असगर अली कुरेसी । आफुहरुमाथि अन्याय भएको भन्दैं सडकमा उत्रिएका कुरेसी भन्छन, ‘गएको महिना मैले १० लाख घाट खाएको छु । प्रहरी १० किलो मिटरको दुरीमा छन । तर तस्करी रोकिन्न । हामी कसरी व्यवसाय गर्ने । गरिब जनताले के गरेर खाने ।’
नेपालगन्जका अर्का कुखुरा व्यवसायी अहमद हुसेन खाँ भन्छन प्रहरीले तस्करी रोक्ने प्रयास गर्दैन् । उनले भने,‘हाम्रो व्यवसाय धरापमा परिसक्यो । जनपथ प्रहरी, सशस्त्र प्रहरी र प्रशासन छ तर खै तस्करी रोकिएको । नेपालगन्जमा अहिले सबै भारतीय कुखुरा छन् । कहाँबाट आए ति । त्यसलाई कसले रोक्ने हो ।’ हरेक महिना आफुले ५० लाख लगानी गरेर कुखुरा उत्पादन गरिरहेको उनी बताउँछन् । तर बजारमा बिक्री गर्दा ३० लाख रुपैयाँ पाउन कठिन भएको खाँले बताए । त्यसको मुख्य कारण हो भारतबाट आउने कुखुरा सस्तोमा नेपाली बजारमा भित्रनु ।
बिहिबार कुखुरा व्यवसायीले सडक अवरुद्ध गरेको केहि मिनेटमै जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्मा घटना स्थलमा पुगेका थिए । आन्दोलनमा उत्रिएका व्यवसायीका कुरा सिनेपछि उनले अवैध तस्करीलाई रोक्ने प्रतिवद्धता जनाए । उनले भने,‘राज्यका निकायले अवैध तस्करीलाई रोक्नु पर्छ । यस कार्यमा कसैले कमजोरी गरेको छ भने त्यसलाई कारबाही हुनेछ । र गल्ती सुधार हुनेछ । हामी व्यवसायीलाई परेको मर्कालाई समाधान गर्ने प्रयास गछौं ।’