बचतकर्तासँग छलफल भयो शिवशिखर सहकारीको
Friday, March 17th, 2023, 8:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ चैत
बाँकेको नेपालगन्ज स्थित न्युरोडमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखाले आफ्ना सेयर सदस्यहरुसँग छलफल गरेको छ । आफ्ना बचतकर्ताहरुको बचत फिर्ता नगरेको भन्दै उत्पन्न विवाद समाधान गर्न उनीहरुसँग छलफल गरेको हो । बुधबार नेपालगन्जमा बचतकर्ताहरुसँग छलफल गरेर जसरी पनि बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिबद्वता जनाएको छ ।
बचतकर्ताको रकम सुरक्षित रहेको बताउदै बचत रकम फिर्ता गर्न सञ्चालक समितिका तर्फबाटका प्रतिनिधि समसुदिन कबडियाले आफू जिम्मेवार रहेको प्रतिबद्वता जनाएका छन । सो छलफमा एकै पटक धेरै शेयर सदस्य बचत फिर्ता लिन आउँदा बचत फिर्ता गर्न केही असहज भएको नेपालगन्ज कार्यालयका शाखा प्रबन्धक सन्ध्या गुरुङले जानकारी दिईन् । जसकारण आफ्ना सदस्यहरुलाई पर्न गएको असुविधाप्रति आफुहरु पूर्णरुपमा जानकार र दुखि रहेको उनले बताईन् ।
सो छलफलबाट विस्तारै सबैको बचत फिर्ता गर्ने सहमतिपछि विहिबार देखि नै संस्थाले कार्यालयबाट हुने काम कारवाही सुरु गरेको छ । स–साना बचत कर्ताले यसदिन देखि नै आफुलाई आवश्यक पर्ने सरसामान सँस्थाको डिपार्टमेन्टल स्टोरबाटै लैजान आग्रह गरेका छन । ठुला बचत कर्ताको रकम भने सस्थाको सम्पत्ति बेचेर भए पनि ६ महिना भित्र फिर्ता गर्ने प्रतिबद्वता जनाईएको छ । शिव शिखर सहकारी सस्थाको मार्टमा १ करोड ५० लाख बराबरको समान रहेको हुँदा तत्काल समानबाट १ करोड ५० लाख बचत कर्तालाई फिर्ता गर्न सकिने सँस्थाले जनाएको छ ।
सो छलफल पछी बचतकर्ताले आफ्नो रकम फिर्ता हुने आशा पलाएको बताएका छन् । बचत कर्ताको बचत फिर्ता गर्ने कुरामा सन्चालकहरुमध्ये कोहिपनि अघाडि नआएका बेला सँस्थाका प्रतिनिधि बनेर समसुदिन कबडियाले जिम्मा लिएपछी आफुहरु आशावादी रहेको नेपालगन्ज उप–महानगरपालिका वडानम्बर २० का दशरथ रानाले विश्वास व्यक्त गरे । शिव शिखर बहुउद्देश्यीय सहकारी सस्था साखा कार्यालय नेपालगन्जमा ३५ सय बचत कर्ता रहेको र ७ करोड ५० लाख बचत भुक्तान गर्नुपर्ने छ ।
केहि दिनदेखि यस सँस्थाका बचतकर्ताहरुले कोहलपुर, नेपालगन्ज लगायतका शाखा कार्यालयहरुमा चरणवद्ध रुपमा आन्दोलन गर्दै आईरहेका थिए । देशभरि शिव शिखरका ३६ वटा शाखा कार्यालय छन् । तीमध्ये नेपालगन्ज शाखा पनि एक हो । शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ । यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो । भक्तपुरको कौशलटार मुख्य कार्यालय रहेको यो सहकारीका देशभर ३३ भन्दाबढी शाखा छन् । उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ चलाएको छ ।
शिव शिखर सहकारीमा सामान्य आम्दानी भएका, साना व्यवसायी, अटो रिक्सा चालक लगायत मध्यम स्तरका व्यवसायीले बचत गर्दै आएका छन् । सहकारी ऐन– २०७४को परिच्छेद –९ अन्र्तरगत आर्थिक स्रोत परिचालनमा बचत कर्ताको रकम फिर्ता तथा खाता सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ । जसमा ‘कुनै सदस्यले सहकारी संस्थाको सदस्यता त्यागी रकम फिर्ता लिन चाहेमा निजको कुनै दायित्व भए त्यस्तो दायित्व भुक्तान गरेको मितिले तीन महिनाभित्र निजको बाँकी रकम तोकिए बमोजिम निजलाई फिर्ता गर्नु पर्नेछ । कुनै सदस्यले सहकारी संस्थामा जम्मा गरेको बचत फिर्ता माग गरेमा निजको कुनै दायित्व भए त्यस्तो दायित्व कट्टा गरी बाँकी रकम तोकिए बमोजिम निजलाई फिर्ता गर्नु पर्नेछ ।’– भनिएको छ ।