विद्यार्थी राजनितिमा महिलाको प्रभाव बढ्दैं
Monday, March 27th, 2023, 5:45 am
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १२ फागुन
राजनितिले व्यक्ति वा समूह बीच शक्ति सम्बन्धको काम गर्छ । देशको स्रोत साधन, अधिकार व्यवस्थापन र वितरणसँग राजनिति सम्बन्धित हुन्छ । यसले जुनसुकै क्षेत्रमा पनि नागरिकहरूको हकहित र अधिकारको संरक्षणका लागि काम गर्छ । यस्तो गहन विषयमा महिलाको सहभागिता चाहिँ कमै भएको पाइन्छ । केहि समय पहिलेसम्म राजनितिमा महिला सहभागिता र उनिहरुको नेतृत्वको अवस्था त नगन्य जस्तै पाईन्थ्यो ।
तर, पछिल्लो समय यस्तो अवस्था फेरिँदै गएको छ । अन्य क्षेत्रमा जस्तै विद्यार्थी राजनितिमा पनि महिला सहभागिता बढेको देख्न सकिन्छ । पछिल्लो समय विद्यार्थी राजनितिमा महिला सहभागिता बढेको छ । यससँगै नेतृत्व तहमा समेत महिला देख्न सकिन्छ । बदलिँदो परिवेश र महिलामा पनि राजनितिक चेतको विकासका कारण पछिल्लो समय विद्यार्थी राजनितिमा महिला सहभागिता पनि बढेको बाँके क्षेत्र नम्बर २ का संघिय सांसद तथा पुर्व विद्यार्थी नेता दिपा शर्मा रुपाखेती बताउँछिन् ।
‘२०६२–६३ सालतिर विद्यार्थी राजनिति गर्दै गर्दा महिला भएकै कारणले हामीले स्ववियुको नेतृत्व गर्न पाएका थिएनौं । हाम्रा पुरुष साथीहरुलाई त्यो अवसर दिईएको थियो । तर, अहिले अवस्था फेरिएको छ । विद्यार्थी संगठनहरुले पनि पुरुष वा महिला भन्दापनि नेतृत्व क्षमताका आधारमा यस्तो अवसर दिन थालेका छन् । साथै हाम्रो राजनितिक चेतपनि फराकिलो भएको छ । जसका कारण विद्यार्थी राजनितिमा महिला सहभागिता संगै नेतृत्व तहमा पुग्ने महिलाको संख्यामा समेत गुणस्तरिय रुपमा वृद्वि भएको छ,’–उनी भन्छिन् ।
पछिल्लो समय विद्यार्थी राजनितिमा महिला सहभागिता मात्रै बढेको छैन । यससँगसँगै नेतृत्व तहमा समेत महिलाहरुको उपस्थिती देख्न सकिन्छ । बाँके जिल्लामा भरखरै सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबाट एक जना सभापति, एक जना कोषध्यक्ष तथा आठ जना सदस्य सहित १० जना महिला(छात्रा) विद्यार्थी नेताका रुपमा निर्वाचित भए ।
पश्चिम नेपालकै पुरानो महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सरस्वति बुढामगर स्ववियु सदस्यका रुपमा प्रत्यक्ष निर्वाचित भईन् ।
कोहलपुरमा अवस्थित बागेश्वरी क्याम्पसबाट सिर्जना मल्ल, अभिसा बोहोरा र तिर्थ कुमारी नकाल निर्वाचित भए । ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराको स्ववियु कोषाध्यक्षमा विनिता पुनमगर तथा सदस्यहरुमा सपना थापा क्षेत्री र निरुता थापा निर्वाचित भए ।
यसैगरि बाँकेकै विकट मानिएको राप्तिपारी क्षेत्रको एकमात्र क्याम्पस जनसिद्वेश्वर बहुमुखी पब्लिक क्याम्पसको स्ववियु सभापतिका रुपमा निरा थारु विजयी भईन् । उनी सँगै यस क्यम्पसबाट विपना घर्ति मगर र अनामिका मौर्य सदस्यका रुपमा निर्वाचित भए ।
आफ्नो जित जितमात्र नभई सम्पुर्ण (छात्रा)महिलाहरुकालागि नयाँ उर्जा र सम्भावनाको नयाँ किरणका रुपमा आफुले लिएको जनसिद्वेश्वर बहुमुखी पब्लिक क्याम्पसकी नवनिर्वाचित स्ववियु सभापति निरा थारु बताउँछिन् ।
‘मेरो जित महिलामा पनि राजनितिक चेतको विकास हुनथालेको कुराको शुभ संकेत हो । भने, महिलाले नेतृत्व गर्न सक्छन् भन्ने कुराको बहस शहरतिर मात्र नभई, अब गाँउतिर पनि सुरु भएको ज्वलन्त उदाहरण हो । मेरो जितले हाम्रो समाज समानतामुलक सकरात्मक परिवर्तन तर्फ उन्मुख छ भन्ने जनाउँछ,’– थारुले भनिन् । ‘पुरूष प्रधान मुलुकमा राजनीतिमा महिला सहभागिता बढ्यो भने पुरूषले गर्ने निर्णय महिलालाई स्विकार्न अनिर्वाय हुन्न । नीति नियम र कानुन बनाउने ठाउँमा महिलाको समान पहुँच रहन्छ र महिला आफ्ना हितमा पनि निर्णय गर्न सक्छन् । जसले हाम्रो समाज, लैंगिक मैत्री बन्न सक्छ ।’
राजनीतिमा मात्र हैन हरेक तहमा जसको सहभागिता रहन्छ, त्यहाँ उसैको सशक्तिकरण हुन्छ । यसर्थ जुनसुकै ठाँउमा पनि पुरूष र महिलाको समान सहभागिता हुन जरूरी छ । झन् राजनीतिक रूपमा महिला नेतृत्व र सहभागिता त अपरिहार्य नै हो ।