एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
Monday, March 27th, 2023, 5:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौँ, १३ चैत
मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा तीन सय फिट नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किएको घटनाबारे छानबिन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इन्डियाका चालक दललाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टावरमा कार्यरत तीन जना एटीसीलाई कारबाही गरिएको हो ।
एयर इन्डियाको जहाज १५ हजार फिटमा आइसकेको जानकारी एकैचोटि एटीसीले राडरमार्फत पाएका थिए । दुईवटा जहाजको दूरी एकदम नजिक भएपछि निगमको जहाज चेतावनी प्रणालीले जहाज ठोक्किन सक्ने सूचना सम्प्रेषण गरेपछि नेपाल एयरलाइन्सको जहाज सात हजार फिटमा झरेको थियो । उक्त समय दुईवटै जहाजमा गरी ३५० यात्रु सवार थिए ।
यसअघि गत फागुन १५ गते पनि कतारको दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज आकाशमै ठोक्किनबाट बचेका थिए । उक्त घटनामा आन्तरिक उडानमा रहेको बुद्ध एयरको जहाज पनि जोगिएको थियो ।